
श्रेणी : BANNER
बीरगन्ज,०८ भदाै । हैजाको प्रकोप फैलिन सक्ने जोखिम बढिरहेको अवस्थामा बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले कर्मचारीहरूलाई सतर्क र संयमित भएर सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ। प्रमुख सिंहका अनुसार हाल डार्नुपर्ने अवस्था छैन र हैजा नियन्त्रणका लागि आवश्यक सबै उपायहरू अपनाइरहेको महानगर सक्रिय रहेको छ।
उहाँले बिरामी भेटिनेबित्तिकै तत्काल उपचार सुनिश्चित गर्न सबै अस्पतालमा आवश्यक प्रबन्ध मिलाउन निर्देशन दिनुभएको छ। यसैगरी, प्रभावित वडामा स्वास्थ्यकर्मी टोली परिचालन गरेर घरघर पुगेर संभावित संक्रमितको पहिचान, परामर्श र सरसफाइ सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन भइरहेको छ।
महानगर प्रमुखले नागरिकलाई स्वच्छ पानी मात्र पिउन, तरकारी–खाद्यपदार्थ राम्ररी धोएर पकाउन र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आग्रह गर्नुभयो। प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले पनि कर्मचारीहरूलाई आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक पूरा गर्न र महामारी नियन्त्रणमा समन्वय, सूचना आदानप्रदान तथा तत्कालीन उपचार व्यवस्थामा कुनै कमी नआउने सुनिश्चित गर्न निर्देशन दिनुभएको छ।
महानगरले हेल्प डेस्क स्थापना, जोखिमयुक्त क्षेत्रको नियमित अनुगमन, पानीको नमूना परीक्षण र सरसफाइ कार्यक्रमलाई प्रभावकारी बनाउन विशेष कदम चालेको जनाएको छ।


प्रतिक्रिया