
श्रेणी : BANNER
रौतहट,२७ साउन । नेपाल र भारत दुवै देशको नागरिकता लिएको आरोपमा रौतहटको दुर्गा भगवती गाउँपालिका–४ पचरुखी छतौना गाउँका वडाध्यक्ष रामानन्द प्रसादमाथि जिल्ला प्रशासन कार्यालय गौरले छानबिन सुरु गरेको छ। गृह मन्त्रालयमा उजुरी परेपछि असार ११ गते मन्त्रालयबाट पत्र आएसँगै अनुसन्धान प्रक्रिया अघि बढाइएको हो।
प्रमुख जिल्ला अधिकारी विनोद खड्काका अनुसार वडाध्यक्षलाई बोलाएर प्रारम्भिक सोधपुछ गरिसकिएको छ, जसमा उनले आरोप अस्वीकार गरेका छन्। थप अनुसन्धानका लागि प्रहरीले समेत खटाइएको छ। प्रसादले प्रशासनमा वंशजको आधारमा प्राप्त नेपालको नागरिकता पेस गरेका छन् र आफ्ना बुवाको पनि वंशजको नागरिकता भएको बताएका छन्। प्रशासनले बुवाको नागरिकता प्रतिलिपि पनि मागेको छ।
उजुरीकर्ताले दुवै देशको नागरिकतामा वडाध्यक्षकै फोटो रहेको दाबी गरेका छन्। तर विवरण भने फरक–फरक छन्। भारतको नागरिकता दस्तावेजमा नाम पप्पुप्रसाद यादव र बुवाको नाम सियारामप्रसाद यादव रहेको छ भने नेपालको नागरिकतामा क्रमशः रामानन्द प्रसाद र रामचन्द्र कापड यादव उल्लेख छ। यद्यपि दुवैमा रहेको फोटो एउटै भएको दाबी प्रशासनको छ।
प्रशासनले भारतीय दूतावासलाई पनि जानकारी गराएको छ। प्रजिअ खड्काले फोटोको प्राविधिक परीक्षण भने गर्न नसकिने बताए।
वडाध्यक्ष रामानन्दले आफूविरुद्धको आरोपलाई निराधार र राजनीतिक प्रतिद्वन्द्वीको षड्यन्त्र भन्दै खारेज गरेका छन्। ‘म जिम्मेवार जनप्रतिनिधि हुँ, गैरकानुनी काम गर्दिनँ,’ उनले भने, ‘वंशजका आधारमा नागरिकता लिएको हुँ, प्रमाण मिले जुनसुकै सजाय भोग्न तयार छु।’
२०७९ वैशाखमा नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित वडाध्यक्ष प्रसादले आफू दोहोरो नागरिक नभएको दाबी गरेका छन्।


प्रतिक्रिया