
श्रेणी : अपराध
रौतहट,०६ साउन । रौतहटको गरुडामा प्रहरीले एक निजी कारबाट १३३ किलो गाँजा बरामद गरेको छ। लागुऔषध कारोबार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले ठूलो मात्रामा गाँजा बरामद गरेको हो।
गरुडा नगरपालिका–५ स्थित झाँझ खोला नजिकै ग ३ च ६७९६ नम्बरको कार छाडेर फरार भएका व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। चन्द्रनिगाहपुरबाट गौरतर्फ गइरहेको उक्त कारलाई इलाका प्रहरी कार्यालय गरुडाको टोलीले जाँच गर्न खोज्दा चालकले कार रोकेनन् र भाग्न थालेपछि प्रहरीले पछ्याएको थियो।
पछ्याउँदै गएको प्रहरी टोलीले झाँझ खोला नजिकैको झाडीमा कार फेला पारेको थियो। करिब २० फिट तल सडकबाट झाडीमा कार छाडेर चालक र अन्य सवारहरू फरार भएका थिए। प्रहरीका अनुसार कारमा १३ वटा बोरामा प्याक गरिएको १३३ किलो गाँजा फेला परेको छ।
क्रेनको सहयोगमा गाडी निकालेर गाँजा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीले जानकारी दिए। फरार व्यक्तिहरूको खोजी जारी रहेको र गाडीभित्र चालक अनुमति पत्र तथा कागजात फेला परेको डीएसपी कार्कीले बताए।


प्रतिक्रिया