
श्रेणी : अपराध
सुर्खेत,३१ असार । नक्कली नोट र लागूऔषध अफिमको कारोबारमा संलग्न रहेको आरोपमा एक पत्रकारसहित ५ जना सुर्खेत प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा कालीकोट नरहरिनाथ गाउँपालिका–४ का ३४ वर्षीय मनबहादुर सहकारी छन्, जसले बाँकेको कोहलपुरमा ‘जनगर्जन नेटवर्क प्रालि’ नामक मिडिया सञ्चालन गर्दै आएका थिए। उनीसँगै जाजरकोट कुशे गाउँपालिका–५ की २२ वर्षीया दिलमाया सिंह ठकुरी, ३३ वर्षीय रामबहादुर सिंह, ३५ वर्षीय कृष्णबहादुर वली र ३८ वर्षीय प्रेमबहादुर विकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढा थापाका अनुसार उनीहरूको साथबाट १३ लाख रुपैयाँ बराबरको नक्कली नोट र ३० किलो ६७२ ग्राम अफिम बरामद गरिएको छ।
गोप्य सूचनाका आधारमा अनुसन्धान गर्दै जाँदा सोमबार दिलमायाको साथबाट ६ हजार रुपैयाँ नक्कली नोट फेला परेको र सोही आधारमा गिरोह पत्ता लागेको प्रहरीले जनाएको छ। थप अनुसन्धानका क्रममा जाजरकोट कुशेका रामबहादुर सिंह र दिलमायाको डेराबाट एक हजार दरका १२ लाख ३६ हजार रुपैयाँ नक्कली नोट बरामद गरिएको थियो।
यस्तै, कृष्णबहादुर वली र प्रेमबहादुर विकको डेरामा छापा मार्दा कालो झोलामा पोका पारेर राखेको ११ किलो ३७२ ग्राम अफिम फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले पत्रकार सहकारीको मिडिया हाउस र डेरामा समेत छापा मार्दा नक्कली नोट छाप्न प्रयोग हुने कम्प्युटर, प्रिन्टर, क्यामेरा लगायतका सामान बरामद गरेको छ। त्यहाँबाट एक हजार दरका ५१ थान नक्कली नोट र १९ किलो अफिम समेत बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेका पाँचै जनामाथि नक्कली नोट र लागूऔषध कारोबारसम्बन्धी थप अनुसन्धान गरिरहेको जनाएको छ।


प्रतिक्रिया