श्रेणी : मधेस
जनकपुर, २५ असार । मधेस प्रदेशलाई आज औपचारिक रूपमा देशकै पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रदेश घोषणा गरिएको छ। प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको विशेष कार्यक्रममा यो घोषणा गरिएको हो।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले मधेस प्रदेशले यो विशिष्ट उपाधि पाएकोमा खुशी व्यक्त गर्दै यस काममा सहकार्य गर्ने सबैलाई धन्यवाद दिएका छन्। साथै उनले खोप अभियान निरन्तरता दिएर सबै बालबालिकालाई सुरक्षित राख्न सबै सरोकारवालालाई आग्रह गरे।
कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले मधेस प्रदेशले पहिलो पटक यस्तो उपलब्धि हासिल गरेकोमा गर्व प्रकट गर्दै सबै जिल्ला तथा सरोकारवालाले यो अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
संघीय स्वास्थ्य मन्त्रालयका बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा. अभियान गौतमले मधेस प्रदेश सरकारलाई प्रमाणपत्र प्रदान गर्दै यो सफलताका लागि शुभकामना व्यक्त गरे।
स्वास्थ्य निर्देशनालयका खोप प्रमुख लक्ष्मेश्वर झाले जानकारी दिए अनुसार, प्रदेशमा एक डोज खोप नलिएका २१३ बालबालिका र कुनै न कुनै खोप छोडेका १२ हजार २३० बालबालिकालाई घरघरमा पुगेर खोप लगाइएकाले मधेसलाई पूर्ण खोप सुनिश्चितता प्रदेश घोषणा गरिएको हो।
    
    
    
									
									
									
									
									
									
        
        
प्रतिक्रिया