
श्रेणी : प्रदेश
राजविराज,२६ जेठ । राजविराज नगरपालिकामा पछिल्लो समय बढ्दो आन्तरिक विवादका कारण विकास निर्माणदेखि नियमित सेवा प्रवाहसम्म प्रभावित भइरहेको छ। पछिल्लो एक महिनामा तीन पटकसम्म तालाबन्दी भएको नगरपालिकामा पुनः विवाद चर्किएसँगै कामकाज ठप्प बनेको हो।
नवीन विवाद उपसचिवस्तरका प्रमुख प्रशासकीय अधिकृत डा. श्रवणकुमार साहको सरुवा गरी आठौँ तहका शिक्षा शाखा प्रमुख भोगेन्द्रप्रसाद यादवलाई निमित्तको जिम्मेवारी दिइएपछि सुरु भएको हो।
नगरपालिकाका निलम्बित मेयर भिमराज यादव निकट युवाहरूले आर्थिक वर्षको अन्त्यमा अनियमितता गर्नैका लागि सक्षम प्रशासकीय अधिकृत हटाएको आरोप लगाउँदै आइतबार नगर कार्यालयमा तालाबन्दी गरेपछि सेवा ठप्प भएको छ।
विरोधमा उत्रिएका स्थानीयहरू अनिश्चितकालीन रिले अनशनमा बसेका छन्। उनीहरू उपसचिव तहकै अधिकारीले नगरपालिका सञ्चालन गर्नुपर्ने माग गर्दै छन्। एकजना आन्दोलनकारीले भने, “उपसचिव हुँदा हुँदै आठौँ तहको कर्मचारीलाई निमित्त किन बनाइयो? यसमा नियतै गलत छ।”
राजविराज नगरपालिकाका मेयर भिमराज यादव २०७९ असारमा भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि सोही पार्टीकी उपमेयर इसरत परविन कार्यवाहक मेयरको भूमिकामा रहेकी छन्। तर, पटक–पटकका विवाद र आन्तरिक किचलोका कारण चालु आर्थिक वर्षको बजेटको ३० प्रतिशत पनि खर्च गर्न नसकेको स्रोतले जनाएको छ। कार्यवाहक मेयर परविन भने अहिले “मिटिङमा छु” भन्दै प्रतिक्रिया दिन चाहिनन्।
यसअघि पनि नगरपालिकामा असन्तुष्टि देखिँदै आएको छ। जेठ ९ मा सरसफाइ कर्मचारीले असार महिनाको बक्यौता तलब माग गर्दै आन्दोलन गरे भने, जेठ १४ मा नगरपालिकाको स्कर्पियोले ठक्कर दिँदा पीडित परिवारले उपचार खर्च नपाएको भन्दै तालाबन्दी गरेका थिए।
चार दिनपछि सेवा पुनः सुरु भए पनि जेठ २३ मा करारका कर्मचारी हटाइएकाे विषयमा असन्तुष्टि पोखिँदा पुनः आन्दोलन सुरु भयो। प्रमुख प्रशासकीय अधिकृत साह र योजना शाखा प्रमुख मनोजकुमार यादवको सरुवाको माग गर्दै कर्मचारीहरू नै आन्दोलित भएपछि नगरको प्रशासनिक कामकाज निरन्तर अस्तव्यस्त भइरहेकाे छ।


प्रतिक्रिया