वीरगन्ज :

बीरगन्जको पुरानो नालामा सरसफाइ अभियान, डुबान समस्या समाधानतर्फ महानगरको पहल

श्रेणी : मधेस

3 months
Pradeep Sah
2.2kViews
1709 Shares

बीरगन्ज,०८ जेठ । वर्षौंदेखि उपेक्षित रहँदै आएको बीरगन्जको मुख्य नालाको सफाइ कार्य अन्ततः सुरु भएको छ। हरेक वर्ष मनसुनमा डुबानको सास्ती झेल्दै आएको शहरका बासिन्दाका लागि यो अभियान दीर्घकालीन समाधानको सुरुआतका रूपमा हेरिएको छ।

बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको नेतृत्वमा सुरु गरिएको यो सरसफाइ अभियानमा डोजर, जेसीबी, ट्रकजस्ता उपकरण र ठूलो संख्यामा जनशक्ति परिचालन गरिएको छ। दशकौंको फोहोर, प्लास्टिक, माटो, ढुंगा र निर्माणजन्य अवशेषले अवरुद्ध बनेको मुख्य नाला अब विस्तारै खुल्दैछ।

“यो केवल सुरुआत हो,” मेयर सिंहले भने, “हामी नाला सफा गरेर मात्र होइन, यसको दीर्घकालीन व्यवस्थापनका लागि संरचनागत सुधार र नियमित अनुगमन प्रणाली पनि तयार गर्दैछौं।”

सफा हुँदै गएको नाला देखेर स्थानीय व्यापारी र बासिन्दाले राहत महसुस गरेका छन्। उनीहरूले यो प्रयासलाई डुबान समस्याको स्थायी समाधानतर्फको पहिलो महत्वपूर्ण कदम मानेका छन्।

स्थानीय व्यवसायी र बासिन्दाको भनाइमा, नालाको नियमित सफाइ, ढल निकास प्रणालीको सुधार र ट्राफिक तथा सडक व्यवस्थापनसँग जोडिएको दीर्घकालीन योजना कार्यान्वयन गर्न सके मात्र डुबानमुक्त वीरगञ्ज सम्भव छ।

महानगरले मुख्य नालासँगै शहरका अन्य क्षेत्रमा रहेका साना–ठूला नालाहरू पनि चरणबद्ध रूपमा सफा गर्दै लैजाने योजना अघि सारेको छ।

यो अभियानले वीरगञ्जलाई स्वच्छ, सुरक्षित र व्यवस्थित सहरतर्फ डोर्याउने संकेत दिएको छ। तर, सफाइ अभियान सफल बनाउन नागरिक सहभागिता र निरन्तरता नै मुख्य चाबी हुने देखिन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *