वीरगन्ज :

बीरगन्जमा १२५६ मिटर लामो नाला निर्माण सुरु, मन्त्री यादवले भने — अब डुबानको पीडा अन्त्य हुन्छ

श्रेणी : BANNER

2 months
Pradeep Sah
2.4kViews
1399 Shares

बीरगन्ज,०४ जेठ । बीरगन्ज महानगरपालिका–१८ र २१ मा डुबान समस्या समाधान गर्न जल निकासी सुधारको उद्देश्यसहित १२५६ मिटर लामो नाला निर्माणको कार्य सुरु गरिएको छ। खानेपानी तथा ढल निकास मन्त्री प्रदीप यादवले आइतबार उक्त आयोजना शिलान्यास गर्दै अबको वर्षातमा डुबानको समस्या हट्ने विश्वास व्यक्त गरे।

शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री यादवले नाला तथा ढल निर्माणले न केवल जल निकासी प्रणाली सुधारिने, तर सडक व्यवस्थापन र सवारी आवागमन पनि सहज हुने बताए। उनले भने, “अब वर्षातमा यो क्षेत्र डुबानको सिकार हुने छैन। जल व्यवस्थापन सुध्रिएपछि सडक र यातायात पनि व्यवस्थित हुनेछ।”

मन्त्री यादवले यस्ता परियोजनाहरू स्थानीय पूर्वाधार विकासको मेरुदण्ड भएको उल्लेख गर्दै नागरिकको दैनिक जीवनमा प्रत्यक्ष असर पार्ने सेवाहरूलाई प्राथमिकतामा राख्नुपर्ने बताए। “खानेपानी, नाला तथा ढल निकासजस्ता कामहरू जनजीवनसँग प्रत्यक्ष जोडिएका छन्। सरकार यी सेवा सुविधालाई समयमै सम्पन्न गर्न प्रतिबद्ध छ,” उनले भने।

साथै, उनले विकास निर्माणका योजनाहरू सफल बनाउन संघ, प्रदेश र स्थानीय तहबीच समन्वय अपरिहार्य रहेकोमा पनि जोड दिए।

बीरगन्ज महानगरपालिका–२१ का वडाध्यक्ष राधेकृष्ण साह रौनियारका अनुसार करिब १ करोड ७२ लाख रुपैयाँ लागतमा बन्न लागेको यो नाला वडा नं. १८ को सुप्चैना क्षेत्रदेखि वडा नं. २१ को परवानीपुरसम्म विस्तार हुनेछ।

नालाको निर्माण सम्पन्न भएपछि स्थानीयवासीलाई वर्षातमा हुने डुबानको समस्या हट्ने र दैनिक आवागमनमा समेत सहजता आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *