
श्रेणी : मधेस
बीरगन्ज,२५ वैशाख । वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई सुरक्षित बनाउने र स्वदेशमै रोजगारीको प्रवर्द्धन गर्ने उद्देश्यसहित बीरगन्जमा एकदिने पत्रकार अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
“स्वदेशमा नै रोजगारी गरौं, वैदेशिक रोजगारीमा जानु परे सही सूचना र सीपसहित मात्र जाऔं” भन्ने नारासहित कार्यक्रम बीरगन्जस्थित गेटवे होटलमा सम्पन्न भएको हो। कार्यक्रम नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, मधेश प्रदेश सरकारअन्तर्गत श्रम तथा यातायात मन्त्रालय, र बीरगन्ज महानगरपालिकाको संयुक्त आयोजनामा गरिएको थियो।
कार्यक्रमको अध्यक्षता बीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्बिन्दलाल कर्णले गरेका थिए भने संयोजक रामा शंकर कुश्वाहाले स्वागत मन्तव्य राख्दै कार्यक्रममा सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको उद्देश्य र भावी योजनाबारे जानकारी दिए।
विशेष अतिथि राजकृष्ण ताम्राकारको उपस्थिति रहेको कार्यक्रममा सञ्चारकर्मी शुशिला भण्डारीसहित विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूको सक्रिय सहभागिता देखिएको थियो।
कार्यक्रमको मूल उद्देश्य वैदेशिक रोजगारीमा जाने क्रममा श्रमिकहरूले भोग्ने समस्याहरू सार्वजनिक गर्ने, उनीहरूको अधिकार सुनिश्चित गर्ने तथा सञ्चार माध्यममार्फत न्यायिक पहलमा सहयोग पुर्याउने रहेको बताइएको छ।
उक्त अवसरमा सहभागी पत्रकारहरूलाई वैदेशिक रोजगारसँग सम्बन्धित विषयमा खोजमूलक र जिम्मेवार पत्रकारिता गर्न आह्वान गरिएको थियो। साथै, जनचेतना अभिवृद्धि र श्रमिक अधिकार सुनिश्चित गर्न सञ्चार जगतको भूमिका अझ प्रभावकारी बनाउनु पर्नेमा जोड दिइएको थियो।

प्रतिक्रिया