
श्रेणी : अपराध
वीरगन्ज,२० बैशाख । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–१ स्थित गढिमाई मन्दिर नजिकको दशगजा क्षेत्रबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरी बल १३ नम्बर गण, पर्साका अनुसार बरामद गरिएको गाँजाको तौल ४३ किलो ८ सय ग्राम रहेको छ।
आज बिहान करिब ४:५० बजे सशस्त्र प्रहरी निरीक्षक नरेन्द्र बहादुर बिष्टको नेतृत्वमा बोर्डर आउट पोस्ट, महादेवपट्टिबाट खटिएको नियमित गस्ती टोलीले गाँजाका पोका फेला पारेको हो। प्रहरी देखेपछि तस्करहरू गाँजा छाडेर फरार भएका थिए।
बरामद गाँजा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय सेढवामा बुझाइएको नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहले जानकारी दिए।
सशस्त्र प्रहरी बलले सिमावर्ती क्षेत्रमा तस्करी नियन्त्रणका लागि निगरानी र कारबाहीलाई थप कडाइ गरिरहेको जनाएको छ। सुरक्षा निकायको तीव्र प्रतिक्रिया क्षमताले सीमामा अवैध कारोबार नियन्त्रणमा उल्लेखनीय भूमिका खेलेको देखिन्छ।


प्रतिक्रिया