बीरगनज,०६ साउन । लामो समयदेखि बन्द रहेको ऐतिहासिक वीरगञ्ज चिनी मिल पुनः सञ्चालन गर्न माग गर्दै नागरिकस्तरबाट सरकारलाई ७२ घण्टे अल्टिमेटम दिइएको छ। ‘वीरगन्ज चिनी मिल पुनः सञ्चालन नागरिक अभियान’ले जिल्ला प्रशासन कार्यालय पर्सामार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउँदै तोकिएको समयभित्र ठोस निर्णय नभए शान्तिपूर्ण आमरण अनशन सुरु गर्ने चेतावनी दिएको हो।
अभियानका संयोजक अफजल हुसैनले वर्षौंदेखि चिनी मिल बन्द रहँदा किसान, मजदुर, व्यवसायी तथा समग्र क्षेत्रीय अर्थतन्त्रमा गम्भीर असर परेको उल्लेख गरेका छन्। उनका अनुसार मिल बन्द भएपछि हजारौंले रोजगारी गुमाएका छन् भने कृषि र औद्योगिक गतिविधि पनि प्रभावित बनेको छ।
अभियानले यसअघि पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आए पनि हालसम्म कुनै ठोस निर्णय वा कार्यान्वयन प्रक्रिया अघि नबढेको भन्दै सरकारसँग तत्काल स्पष्ट कार्ययोजना सार्वजनिक गर्न माग गरेको छ।
ज्ञापनपत्रमार्फत अभियानले पाँच प्रमुख माग अघि सारेको छ। चिनी मिल पुनः सञ्चालनसम्बन्धी स्पष्ट निर्णय र समयबद्ध कार्ययोजना सार्वजनिक गर्न, आवश्यक बजेट तथा कानुनी–प्रशासनिक प्रक्रिया तत्काल सुरु गर्न, संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर कार्यान्वयन अघि बढाउन, मिलको वर्तमान अवस्था र सञ्चालन सम्भाव्यताबारे आधिकारिक विवरण सार्वजनिक गर्न तथा किसान, मजदुर र अन्य सरोकारवालासँग सहकार्य गरी दीर्घकालीन समाधान लागू गर्न माग गरिएको छ।
अभियानले आफ्नो आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण, संवैधानिक र लोकतान्त्रिक हुने स्पष्ट गर्दै ७२ घण्टाभित्र सरकारबाट लिखित प्रतिबद्धता वा कार्यान्वयन प्रक्रिया सुरु नभए आमरण अनशनमा बस्ने जनाएको छ।
अभियानका अनुसार यो आन्दोलन कुनै व्यक्ति वा राजनीतिक दलविरुद्ध नभई वीरगन्ज चिनी मिलको पुनः सञ्चालन, स्थानीय उद्योगको पुनर्जीवन, किसानको हित संरक्षण, रोजगारी सिर्जना र जनहितका लागि गरिएको नागरिक अभियान हो।

प्रतिक्रिया