
श्रेणी : मधेस
बीरगन्ज,१८ वैशाख । भारतसँगको सीमा क्षेत्र हुँदै नेपाल प्रवेशमा कडाई गर्न पर्सा प्रहरीले निगरानी थप कडा बनाएको छ। बीरगन्ज नाकालगायत जिल्लाका सबै सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साले भारतबाट नेपाल प्रवेश गर्न चाहने व्यक्तिहरूलाई सरकारी परिचयपत्र अनिवार्य रुपमा देखाउनुपर्ने नियम लागु गरेको छ। यता नेपालबाट भारत जानेहरूका लागि पनि नागरिकता प्रमाणपत्र देखाउनु पर्ने व्यवस्था गरिएको छ।
सीमामा लागुऔषधको ओसार–पसार, अवैध प्रवेश तथा आपराधिक गतिविधि बढेको संकेतपछि सुरक्षा संयन्त्रलाई थप सक्रिय बनाइएको छ। प्रहरीले नाकामा ‘स्पेशल डग’ अर्थात् तालिम प्राप्त कुकुर परिचालन गरेर शंका लागेका व्यक्तिहरू तथा सवारीसाधनको बिशेष जाँच गरिरहेको छ।
पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार, बुधबार जिल्लाका सबै सीमावर्ती प्रहरी चौकीहरूलाई सतर्कता बढाउन निर्देशन दिइएको थियो। उनले भने, “भारतको काश्मिरस्थित पहलगाममा भएको आतङ्कवादी घटनालाई ध्यानमा राख्दै थप कडाई गरिएको हो।”
त्यस घटनामा एक नेपालीसहित २७ जनाको ज्यान गएको थियो। भारत–पाकिस्तानबीच चर्किएको विवादको पृष्ठभूमिमा पाकिस्तान र बंगलादेशका नागरिक नेपाल प्रवेश गर्ने जोखिम बढेको भन्दै पर्सा प्रहरीले उच्च सतर्कता अपनाएको हो।
“हाल पाकिस्तानी र बंगलादेशी नागरिकहरू वीरगन्ज नाका हुँदै नेपाल प्रवेश गर्ने सम्भावना पनि देखिएको छ,” एसपी मिश्रले बताए, “त्यसैले हामी सबै हिसाबले सचेत भएका छौं।”


प्रतिक्रिया