
श्रेणी : अपराध
बीरगन्ज,२७ चैत । बीरगन्ज महानगरपालिकाले वडा नं. १० स्थित आदर्श टोलमा अवैधरूपमा सञ्चालित ग्यालेक्सी सेकेन्डरी स्कुललाई सिलबन्दी गरेको छ। शिक्षा क्षेत्रको नियमन र गुणस्तर कायम गर्न महानगरले अवैध रूपमा सञ्चालनमा रहेका विद्यालयहरूमाथि कारबाहीको क्रम अघि बढाएको हो।
ग्यालेक्सी स्कुलले न त महानगरको अनुमति पत्र नविकरण गरेको थियो, न त इमिस प्रणाली अपडेट गरेको थियो। त्यसमाथि विद्यालयले पटक–पटक कागजात माग्दा विवरण नपठाएको, व्यवसाय कर, घर बहाल कर, एकीकृत सम्पत्ति कर जस्ता महत्त्वपूर्ण करहरू नबुझाएको पाइएपछि अन्ततः बुधबार विद्यालय सिलबन्दी गरिएको शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले जानकारी दिए।
विद्यालयले विद्यार्थीको पठनपाठनमा समेत बाधा पुर्याएको र वार्षिक परीक्षा सञ्चालनमा अवरोध पुर्याएको तथ्य पनि महानगरको छानबिनमा खुलेको छ।
सिलबन्दीको कार्य नगर प्रमुखका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, शिक्षा अधिकृत सृजना बुढाथोकी, नगर प्रहरी इन्चार्ज हरि प्रसाद भुषाल र सञ्चारकर्मीहरूको उपस्थितिमा सम्पन्न भएको थियो। वीरगंज महानगरपालिकाले शिक्षा क्षेत्रको सुधार तथा पारदर्शिता कायम गर्न अनुमति नलिई सञ्चालनमा रहेका विद्यालयहरूमाथि यस्तै कडा कदम चालिने चेतावनीसमेत दिएको छ।


प्रतिक्रिया