
श्रेणी : मधेस
जनकपुर,२७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी सातादेखि मधेश प्रदेशमा ‘भण्डाफोर’ अभियान सुरु गर्ने घोषणा गरेको छ। सरकारको कुशासन र भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै र जनतामा चेतना फैलाउने उद्देश्यसहित अभियान सुरु गर्न लागेको पार्टीले जनाएको छ।
जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा रास्वपा मधेश प्रदेशका सभापति इन्जिनियर तपेश्वर यादवले अभियानको उद्देश्य र कार्ययोजना सार्वजनिक गरे। उनले भने, “यो अभियान व्यवस्थाको असफलता, कुशासन र भ्रष्टाचारको पर्दाफास गर्दै जनतालाई सशक्त बनाउने प्रयत्न हो।”
उनका अनुसार अभियान मधेश प्रदेशका सबै आठ जिल्लाका स्थानीय तहसम्म विस्तार गरिनेछ। प्रत्येक गाउँ–नगरमा पुगेर जनचेतना अभिवृद्धि गरिने र सरकारले जनविरोधी ढंगले लिएको निर्णयको विरोध गरिने यादवले बताए।
“हामी यो आन्दोलनलाई केवल राजनीतिक विरोधका रूपमा होइन, सामाजिक जागरणको अभियानका रूपमा अगाडि बढाउँदैछौं,” यादवले भने, “यस अभियानबाट युवालाई सक्रिय बनाउने, नागरिक अधिकारबारे शिक्षित गर्ने र देशभर जनताको आवाज उठाउने वातावरण तयार पार्नेछौं।”
यादवले पार्टी सभापति रवि लामिछानेमाथि गरिएको पक्राउलाई ‘राजनीतिक प्रतिशोध’को संज्ञा दिँदै सरकारप्रति कडा आक्रोश व्यक्त गरे। “सरकारले लोकतान्त्रिक मूल्य र मान्यताको उल्लंघन गर्दै रवि लामिछानेलाई निशाना बनाएको छ। हामी यो अन्यायविरुद्ध सशक्तरूपमा उभिन्छौं,” उनले चेतावनी दिए।
रास्वपाले मधेशका गाउँ–गाउँमा पुगेर ‘भण्डाफोर’ अभियानमार्फत सरकारका कमजोरी जनतासामु ल्याउने र युवालाई परिवर्तनको सारथी बनाउने लक्ष्य लिएको स्पष्ट पारेको छ।

प्रतिक्रिया