
श्रेणी : BANNER
वीरगञ्ज, १२ चैत – वीरगञ्जमा यस वर्षको चैती छठ पर्वको तयारी तीव्र भइरहेको छ, तर सिर्सिया नदीमा बढ्दो प्रदूषणले वातावरणीय चिन्ता थपिएको छ। विशेषगरी बाराका विभिन्न उद्योगहरूले औद्योगिक फोहोर मिसाइरहेको कारण नदीको अवस्था झन् भयावह बन्ने संकेत देखिएको छ।
वीरगञ्ज महानगरपालिकाले आफ्ना क्षेत्रका उद्योगहरूलाई प्रदूषण नियन्त्रणमा राख्न अनुगमन तथा कडाइ गरिरहेको छ। तर, बाराको जीतपुरसिमरा उपमहानगरपालिका र परवानीपुर औद्योगिक क्षेत्रका उद्योगहरू – कृष्ण डाल्डा उद्योग, शिवशक्ति र नन्दन घ्यू उद्योग, कोहिनूर टेक्सटाइल्स, अमृत तेल रिफाइनरी, महालक्ष्मी तेल रिफाइनरी, नारायणी तेल मिल लगायतका उद्योगहरूले निरन्तर औद्योगिक फोहोर सिर्सिया नदीमा मिसाइरहेका छन्।
वीरगञ्ज महानगरपालिकाका वातावरण अधिकृत प्रकाश ऐरका अनुसार यी उद्योगहरूले खेत तथा अन्य माध्यमबाट सिर्सिया नदीमा प्रदूषित पानी बगाइरहेका छन्। अनुगमन टोलीले उद्योगहरूमा प्रवेश गर्न खोज्दा समेत अनुमति नदिइएको र आधिकारिक पत्राचारलाई बेवास्ता गरिएको उनले बताए। “नदीको प्राकृतिक मुहान सुकेको अवस्थामा अहिले सिर्सियामा औद्योगिक फोहोर मात्र बगिरहेको छ।
अनुगमन टोलीका अनुसार वीरगञ्ज महानगरपालिकाभित्रका उद्योगहरूले प्रदूषण नियन्त्रणका लागि केही सुधार देखाए पनि बाराका उद्योगहरूले निरन्तर अटेरी गरिरहेका छन्। बाराका औद्योगिक क्षेत्रहरूमा स्वच्छ वातावरणीय नीति लागू गर्ने विषय अझै अन्योलमै छ।
वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहका अनुसार तीन वर्षअघि महानगरपालिकाले सिर्सिया नदीलाई सफा राख्ने अभियान थालेको थियो। तर, बाराका उद्योगहरूको असहयोगका कारण यो प्रयास कमजोर बन्दै गएको छ।
“हामीले पटक–पटक अनुगमन गरी कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएका छौँ, र कैयाैँलाइ कारबाही समेत गर्याैँ तर बाराका केही उद्योगहरूले अटेरी गरीरहेकाे र उनिहरूलाइ महानगरपालिकाले प्रदूषण नियन्त्रणका गर्न चेतावनी समेत दिएकाे बताए , तर संघीय तथा प्रदेश सरकारको ठोस सहयोग बिना मात्र महानगरकाे प्रयास प्रभावकारी नहुने समेत मेयर सिंहले नेपाल पाेष्ट डेलीलाइ बताए।
चैती छठ पर्वमा धार्मिक आस्थामा असर पर्ने चिन्ता
चैती छठ हिन्दू धर्मावलम्बीहरूको एक महत्वपूर्ण पर्व हो, जसमा भक्तजनहरूले नदी वा जलाशय किनारमा स्नान गरी सूर्य उपासना गर्छन्। तर सिर्सिया नदीको बढ्दो प्रदूषणका कारण भक्तजनहरूको आस्थामा आँच आउन सक्ने देखिएको छ।
स्थानीय बासिन्दा तथा धार्मिक अगुवाहरूले यस विषयमा तत्काल ध्यान दिन आग्रह गरेका छन्। “छठ पर्व नजिकिँदै गर्दा नदीको यस्तो स्थिति हुनु निकै दुःखद छ। प्रशासनले ठोस कदम चाल्नुपर्छ,” एक स्थानीय बासिन्दाले भने।
सरकारले प्रभावकारी रूपमा हस्तक्षेप नगरेमा सिर्सिया नदीको प्रदूषण अझै गम्भीर बन्ने देखिएको छ। वीरगञ्ज महानगरपालिकाले अनुगमनलाई तीव्र बनाउने प्रतिबद्धता जनाए पनि, ठोस कारबाही बिना समस्या समाधान नहुने स्पष्ट देखिन्छ।


प्रतिक्रिया