
श्रेणी : अन्तर्राष्ट्रिय
वीरगन्ज,०८ चैत । वीरगन्जकाे सीमावर्ती भारतीय सहर रक्सौलमा २१ वर्षको प्रतीक्षा पश्चात् रेलवे गुमटीमा ओभर ब्रिज निर्माणको सहमति प्राप्त भएको छ । बिहीबार बिहार सरकारको पथ निर्माण विभागले रक्सौलका दुई रेलवे गुमटीमा ओभर ब्रिज निर्माण गर्न सहमति प्रदान गरेको हो ।
निर्णयसँगै रक्सौल-आदापुर बिचको गुमटी नम्बर ३३ र रक्सौल-सिकटा बिचको गुमटी नम्बर ३४ मा ओभर ब्रिज निर्माणको बाटो खुलेको छ । बिहार सरकारको पथ निर्माण विभागले एक विज्ञप्ति जारी गर्दै रेलवे विभागलाई ओभर ब्रिज निर्माणको लागि अनुमति दिइएको जानकारी दिएको छ ।
ओभर ब्रिज निर्माणमा लाग्ने सम्पूर्ण खर्च भारतीय रेलवेले बेहोर्ने छ र निर्माण कार्य पनि रेलवेले नै गराउने छ । गत १३ मार्चमा बिहार सरकारका पथ निर्माण विभागका अपर मुख्य सचिव मिहिर कुमार सिंह र भारतीय रेल मन्त्रालयका सदस्य नवीन गुलाटीबीच भएको उच्चस्तरीय बैठकमा यसबारे सहमति जुटेको थियो ।
सन् २००४ मा तत्कालीन भारतीय रेल मन्त्री लालुप्रसाद यादवले ओभरब्रिजको शिलान्यास गरेका थिए, तर करिब २१ वर्षसम्म परियोजना अघि बढ्न सकेको थिएन ।
रक्सौलमा ओभर ब्रिज नहुँदा लामो समयदेखि सहरवासीले गम्भीर समस्या भोग्दै आएका थिए । अब भने यो निर्णयले सहरका बासिन्दाहरूका साथै नेपालबाट वीरगन्ज हुँदै जाने नागरिकहरूको समस्या समाधान हुने अपेक्षा गरिएको छ ।
वीरगन्जसँगै तथा नेपालका अन्य क्षेत्रबाट जाने नागरिकहरू पनि रेलवे गुमटीमा हुने ट्राफिक जाम र अव्यवस्थाका कारण लामो समयदेखि असन्तुष्ट थिए । अब ओभर ब्रिज निर्माणको प्रक्रिया अघि बढेपछि नेपाल-भारत सीमा क्षेत्रमा आवतजावत सहज हुने विश्वास गरिएको छ ।
पथ निर्माण विभाग र रेलवे विभागबिच सहमति भएसँगै स्थानीयवासीले ओभर ब्रिज निर्माण छिट्टै सुरु हुने आशा गरेका छन् । यसले सहरको यातायात व्यवस्थालाई व्यवस्थित मात्र होइन, सीमा क्षेत्रको व्यापार तथा यात्रामा समेत सहजता ल्याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया