सर्लाही,२७ फाल्गुन । सर्लाहीको धनकौल गाउँपालिका–५ हरकठवामा विवाहको ब्रह्म पूजा गर्ने क्रममा दुई समुदायबीच विवाद उत्पन्न हुँदा पाँच जना घाइते भएका छन् भने वडाध्यक्ष गजेन्द्र महतोको गाडीमाथि आक्रमण भएको छ।
धनकौल–५ निवासी दलित महिला सदस्य मञ्जु देवीका छोरा सुशील पासवानको विवाहमा ब्रह्म पूजा गर्ने क्रममा पासवान र तेली समुदायबीच विवाद उत्पन्न भएको हो। जयकिशोर पासवानका अनुसार, पहिला तेली समुदायले ब्रह्म पूजा गरिसकेपछि पासवान समुदायले पूजा गर्न लागेको थियो। तर, पूजा अघि बढाउन नदिएपछि झडप सुरु भएको थियो।
एक घन्टासम्म प्रतीक्षा गरेपछि दुलाहाले घोडामा फोटो खिच्ने क्रममा तेली समुदायका युवाले हस्तक्षेप गरेपछि विवाद झडपमा परिणत भएको बताइएको छ। यस क्रममा जयकिशोर पासवान, मुकेश पासवान, नरेन्द्र पासवान, रामश पासवान र कमलेश पासवान घाइते भएका छन्। उनीहरूको शरीरमा कुटपिटका निसान देखिए पनि अवस्था सामान्य रहेको स्थानीय स्रोतले जनाएको छ।
यस्तै, सोही विवाहको जन्ती चक्रघटा गाउँपालिकाको गोहियाही गाउँ हुँदै औरही जाँदै गर्दा वडाध्यक्ष गजेन्द्र महतोको गाडीमाथि आक्रमण भएको छ। पासवान समुदायको जन्ती औरही जाने क्रममा बाटो सोध्दा, त्यहीँ उपस्थित तेली समुदायको जन्तीका केही व्यक्तिहरूले आक्रमण गरेको बताइएको छ।
आक्रमणमा संलग्न करिब २०–२५ जनाको समूहले गाडीको फ्रन्ट सिसा तोडफोड गर्नुका साथै ह्यान्डल लक समेत भाँचिएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको स्थानीय प्रशासनले जनाएको छ।
प्रतिक्रिया