बीरगन्ज,१८ फाल्गुन । नेपालमा धान आयातको परिमाण उल्लेखनीय रूपमा वृद्धि भएको छ। चालु आर्थिक वर्षको सात महिनामा बीरगन्ज नाका हुँदै रु ८ अर्ब ६८ करोड मूल्य बराबरको २२ करोड ६४ लाख किलोग्राम धान आयात भएको छ।
यो संख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७२ प्रतिशतले वृद्धि भएको हो। गत वर्ष सोही समयमा बीरगन्ज नाकाबाट रु ४ अर्ब ९१ करोड मूल्य बराबरको १३ करोड १८ लाख किलोग्राम धान आयात भएको थियो।
बीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीका अनुसार चालु आवमा धान मात्र नभई चामलको आयात पनि उल्लेखनीय रूपमा बढेको छ। चालु वर्षको सात महिनामा मात्र रु १ अर्ब ३५ करोड मूल्य बराबरको १ करोड ३३ लाख किलोग्राम चामल नेपाल भित्रिएको छ। अघिल्लो वर्ष सोही अवधिमा ८१ लाख किलोग्राम मात्र चामल आयात भएको थियो, जसको मूल्य रु १ अर्ब ६ करोड थियो।
धान र चामलको आयातमा वृद्धि भए पनि मकै आयातमा भने सामान्य गिरावट देखिएको छ। चालु आवको सात महिनामा रु २ अर्ब ९६ करोड मूल्य बराबरको ५ करोड ७७ लाख किलोग्राम मकै नेपाल आयात भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा केही कम हो। गत आवमा सोही अवधिमा रु २ अर्ब ९७ करोड मूल्यको ६ करोड ६० लाख किलोग्राम मकै आयात भएको थियो।
नेपाललाई कृषिप्रधान देश मानिए पनि यहाँको खाद्य आपूर्ति अझै विदेशी आयातमा निर्भर देखिएको छ। धान, चामल, तथा मकैजस्ता कृषि उत्पादनहरूको बढ्दो आयातले नेपालमा खाद्य सुरक्षासम्बन्धी नयाँ बहस सिर्जना गर्न सक्छ।
प्रतिक्रिया