काठमाडौं, ०५ फाल्गुन । भारतको ओडिसाको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्साल मृत अवस्थामा फेला परेकी छन्। बुटवलकी लम्साल बी-टेक तेस्रो वर्षमा अध्ययनरत थिइन् र कलेजको होस्टलमै उनको शव भेटिएको हो।
कलेज प्रशासनले यो घटना आत्महत्या भएको दाबी गर्दै विज्ञप्ति जारी गरे पनि घटनाको वास्तविक कारणबारे विभिन्न शंका उठिरहेका छन्। भारतीय पत्रिका द न्यू इण्डियन एक्सप्रेस का अनुसार, लम्साल कलेजकै एक विद्यार्थीसँग प्रेम सम्बन्धमा रहेको बताइएको छ, जसलाई आत्महत्यासँग जोडेर हेरिएको छ। तर, संवाद पत्रिकाको अंग्रेजी संस्करणमा भने उनी मानसिक तनावमा रहेको र दुर्व्यवहारको शिकार बनेको दाबी गरिएको छ।
सामाजिक सञ्जालमा भाइरल भएको थ्रेडका अनुसार, लम्साल केही महिनाअघि कलेजको अन्तर्राष्ट्रिय सम्बन्ध अफिसर (आईआरओ) सँग भेटेर आफूले भोगेको मानसिक पीडा र दुर्व्यवहारबारे जानकारी गराएकी थिइन्। तर, कलेज प्रशासनले कुनै ठोस कदम नचालेको आरोप छ। थ्रेडमा भनिएको छ, “उनले जोगिन प्रयास गरिन्, तर कलेजले उनको गुनासोलाई गम्भीर रूपमा लिएन। अन्ततः एक व्यक्तिको टक्सिसिटी मात्र नभई कलेजको लापरबाहीले पनि उनको जीवन गुम्यो।”
घटना सार्वजनिक भएपछि विद्यार्थीहरू आन्दोलित भएका छन्। कलेज प्रशासनले प्रदर्शन रोक्न सुरक्षागार्ड र होस्टल वार्डेनहरूलाई प्रयोग गरेको आरोप छ। परिस्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले प्रहरी परिचालन गरेको छ।
यसबीच, लम्सालको शवलाई पोस्टमार्टमका लागि क्यापिटल अस्पताल पठाइएको छ। नेपाली विद्यार्थीहरूबीच असुरक्षा बढेपछि कलेज प्रशासनले उनीहरूसँग छलफल गरी परिस्थिति सामान्य नभएसम्म बिदामा बस्न सुझाएको छ।
प्रतिक्रिया