
श्रेणी : मधेस
उदयपुर,०४ फाल्गुन । जिल्लाको पश्चिमी बजार कटारी नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा चालकको निधन भएको छ भने पछाडि सवार यात्रु घाइते भएका छन्। कटारी ७ नौडाडास्थित सिद्धिचरण लोकमार्गमा शनिबार विहान भएको दुर्घटनामा कटारी ७ कै २३ वर्षीय रविन तामाङको ज्यान गएको हो।
इलाका प्रहरी कार्यालय कटारीका अनुसार विहान सिराहाको मिर्चैयाबाट कटारीतर्फ आउँदै गरेको प्रदेश २–०१–००३४ प १३०४ नम्बरको मोटरसाइकल सडकमा आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको अनुमान गरिएको छ। कटारी ७ मर्जेपुर स्थायी घर भए पनि ४ नं. स्थित कटारी बजारकै मावि टोल बस्दै आएका तामाङको घटनास्थलमै निधन भएको प्रहरी भनाइ छ।
दुर्घटनामा परी पछाडि सवार सिराहाको धनगढीमाई नगरपालिका १४ दम्लीका २३ वर्षकै किरण तामाङ घाइते भएका छन्। स्थानीय भिमबहादुरका छोरा किरण गम्भीर घाइते भएकाले कटारी अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ।
प्रारम्भिक अनुसन्धानले दुर्घटना हुनुको कारण तीव्र गति भएको भन्ने खुलेको छ। तर, विस्तृत कारण खुल्न भने अनुसन्धान र पोष्टमार्टम रिपोर्ट नै पर्खनुपर्ने इप्रका कटारीले जनाएको छ। इप्रकाका इन्स्पेक्टर दिपक खरेलले विहान उज्यालो नहुँदैको घटना भएकाले तीव्र गति तथा अँध्यारो भएका कारण दुर्घटना भएको अनुमान गर्न सकिने बताए।
विहान १ देखि ३ बजेभित्रको घटना भएको हुनसक्ने अनुमान गरिएको उनको भनाइ छ। प्रहरीलाई भने विहान ९ वजेपछि मात्र जानकारी आएको खरेलले बताएका छन्।
दुर्घटनाग्रस्त मोटरसाइकल प्रहरी चौकी बेलसोतमा राखिएको भने मृतकको शव पोष्टर्माटमका लागि कटारी अस्पतालमा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया