
श्रेणी : अपराध
हेटौँडा,०२ फागुन । मकवानपुर प्रहरीले हेटौँडा–१५ रातोमाटेबाट ४ ग्राम ९१० मिलिग्राम अवैध लागूऔषध खैरो हिरोइनसहित ४ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ पर्नेहरूमा हेटौँडा–८ का २३ वर्षीय निखिल तिमल्सिना, २८ वर्षीय भीमसेन पाण्डे, हेटौँडा–७ का २७ वर्षीय मन्जित गौतम र हेटौँडा–५ का २० वर्षीय साकार ढुंगेल रहेका छन्।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत बीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेका प्र.२–०३–०२१ प ६३०८ र बा.प्र.०३–००५ प ९६६६ नम्बरका मोटरसाइकल चेकिङको क्रममा उनीहरूलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले बताए।
उनका अनुसार शङ्काका आधारमा शरीर तथा मोटरसाइकल खानतलासी गर्दा निखिल तिमल्सिनाको बायाँ खुट्टाको जुत्ताभित्र लुकाइएको खैरो हिरोइन फेला परेको थियो। प्रारम्भिक सोधपुछका क्रममा चारै जना मिलेर लागूऔषध खरिद गरेको स्वीकारेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेकाहरूलाई जिल्ला अदालत मकवानपुरबाट ७ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया