![](https://birgunjreport.com/wp-content/uploads/2025/02/police-death2025-02-06-10-43-48_iClsvOma4Q.webp)
श्रेणी : प्रदेश
वीरगञ्ज — जिल्ला प्रहरी कार्यालय महोत्तरीको कन्ट्रोल रुममा ड्युटी गरिरहेका प्रहरी सहायक निरीक्षक (असई) सुरेन्द्र राम चमारको आकस्मिक निधन भएको छ।
ड्युटीका क्रममा अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई तत्काल प्रादेशिक अस्पताल जलेश्वर पुर्याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि जनकपुरस्थित प्रादेशिक अस्पतालमा स्थानान्तरण गरिए पनि चिकित्सकहरूले उनलाई बचाउन सकेनन्।
बुधबार साँझ करिब ५ बजे श्वासप्रश्वासमा गाह्रो महसुस गरेपछि ६:१५ बजे असई चमारको निधन भएको प्रहरीले जनाएको छ। उनी लामो समयदेखि मधुमेह (चिनी) र उच्च रक्तचापबाट पीडित थिए।
चिकित्सकहरूले अक्सिजन आपूर्ति र सिपिआरमार्फत बचाउने प्रयास गरे पनि सफलता प्राप्त हुन सकेन।
असई चमारले २३ वर्ष १० महिना ८ दिन प्रहरी सेवामा काम गरेका थिए। सात महिनाअघि मात्र उनको सरुवा सिन्धुपाल्चोकबाट महोत्तरीमा भएको थियो।
उनका श्रीमती, दुई छोरा र एक छोरी रहेका छन्। जेठो छोरा वैदेशिक रोजगारमा छन्, छोरीको विवाह भइसकेको छ भने कान्छो छोरा हाल अध्ययनरत छन्।
![](https://birgunjreport.com/wp-content/uploads/2023/12/laingik-hinsa-1536x458-1.jpg)
प्रतिक्रिया