वीरगन्ज :

१७ वर्षदेखि झुपडीमा कठ्याङ्ग्रिँदै पढ्न बाध्य दलित बालबालिका

श्रेणी : मधेस

2 weeks
Pradeep Sah
2.4kViews
1597 Shares

रौतहट,१० माघ । फतुवा विजयपुर नगरपालिका–१ गम्हरियास्थित दलित प्राथमिक विद्यालयका १९२ बालबालिका विगत १७ वर्षदेखि झुपडीमा चिसो भुइँमा बसेर पढ्न बाध्य छन्। २०६४ सालमा स्थानीय गणेश महराले विद्यालयका लागि दान गरेको १० धुर जमिनमा अहिले पनि अस्थायी झुपडीमा पढाइ हुँदै आएको छ।

विद्यालयमा न भवन छ, न डेस्क-बेन्च, न शौचालय। बालबालिकाले घरबाट बोरा र पाल ल्याएर कठ्याङ्ग्रिँदै भुइँमा बसेर पढ्नुपर्छ। चिसो मौसममा शीतलहर चल्दा पनि बालबालिकाको कष्टपूर्ण अवस्थाप्रति स्थानीय सरकार र जनप्रतिनिधिहरूले चासो नदेखाएको विद्यालयका प्रधानाध्यापक हीरालालप्रसाद यादवले बताए।

विद्यालयको जमिन नदी किनारमा भएकाले भवन निर्माणका लागि नगरपालिकाले बजेट निकासा गर्न नसकेको बताइएको छ। २०७६ सालमा दलित प्राविका लागि १० लाख रुपैयाँ बजेट छुट्याए पनि उक्त रकम विवादका कारण तीन पटकसम्म फ्रिज भएको थियो।

हाल सो जमिन तराई-मधेश जनयुद्ध स्मृति प्रतिष्ठानका नाममा पास गरिएको छ। प्रतिष्ठानको अधुरो भवन निर्माण भएको भए पनि बालबालिकाको पठनपाठनका लागि स्थानान्तरण गर्न नसकिएको प्रधानाध्यापक यादवले जानकारी दिए।

विद्यालयको अवस्थाप्रति सांसद एवं पूर्वमन्त्री प्रभु साह र मधेश प्रदेश सरकारका अर्थमन्त्री जितेन्द्र यादवसमेतले कुनै चासो नदेखाएको गुनासो छ।

बालबालिकालाई सुविधाजनक शिक्षा दिन विद्यालयको नाममा जग्गा पास गरी पूर्वाधार निर्माण गर्न तत्काल कदम चालिनुपर्ने आवश्यकता रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *