वीरगन्ज :

साथीसँग गेष्ट हाउस गएकी किशोरी मृत अवस्थामा भेटिइन्, चार जना पक्राउ

श्रेणी : BANNER

17 hours
Pradeep Sah
2.2kViews
1856 Shares

भक्तपुर,०४ साउन । भक्तपुर नगरपालिका–१ दुधपाटीस्थित एक गेष्ट हाउसमा बसेकी १८ वर्षीया किशोरीको रहस्यमय मृत्यु भएको छ। घटनाबारे अनुसन्धानका लागि प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।

मृत्यु हुनेमा दोलखाको भीमेश्वर नगरपालिका–९ खरीढुंगा घर भई हाल चाँगुनारायण नगरपालिका–९ टेडोल बस्दै आएकी सलिना श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सलिना आइतबार राति करिब १० बजे चार जना साथीसहित लुम्बिनी गेष्ट हाउस पुगेकी थिइन्। उनीहरूले दुई वटा कोठा लिएर बसेका थिए। गेष्ट हाउसका कर्मचारीले समूहले मदिरा सेवन गरेको र कोठाभित्र केही समय होहल्ला समेत गरेको बताएका छन्।

सोमबार बिहान करिब ३ः३० बजे सलिना गेष्ट हाउसको पछाडिपट्टि लडिरहेको अवस्थामा फेला परेकी थिइन्। घटनाको जानकारी पाएपछि प्रहरी प्रभाग दुधपाटीको टोली घटनास्थल पुगेको थियो।

उद्धार गरी उनलाई भक्तपुर अस्पताल पुर्‍याइए पनि चिकित्सकले बिहान ३ः५० बजे मृत घोषणा गरेका थिए।

घटनापछि सलिनासँगै रहेका दुई पुरुष र दुई महिलालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ। उनीहरू सबै २३ वर्षभन्दा कम उमेरका रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

प्रारम्भिक बयानमा उनीहरूले जमघटका क्रममा सलिना कुन बेला झ्यालबाट खसेकी हुन् भन्ने थाहा नभएको बताएका छन्। घटनाको वास्तविक कारण पत्ता लगाउन प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ।

मृतकको शव भक्तपुर अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ। पोस्टमार्टम रिपोर्टपछि घटनाबारे थप तथ्य खुल्ने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *