श्रेणी : धर्म संस्कृति
वीरगंज, पर्सा – वीरगंजको ऐतिहासिक श्रीरामजानकी मन्दिरको प्राणप्रतिष्ठा सम्पन्नता साथै प्रथम वार्षिकोत्सव भव्य रूपमा मनाइएको छ। वीरगंज महानगरपालिकाको आयोजनामा आयोजित यस विशेष कार्यक्रममा भक्तजनहरूको व्यापक सहभागिता रहेको थियो।
वार्षिकोत्सवको प्रमुख आकर्षणको रूपमा मन्दिर परिसरमा एक लाख बत्ती प्रज्वलन गरिएको थियो, जसले सम्पूर्ण क्षेत्रलाई भक्तिमय तथा आध्यात्मिक वातावरणमा परिणत गर्यो। धार्मिक अनुष्ठान अन्तर्गत रामायण पाठ, भजन-कीर्तन तथा विविध पूजापाठ आयोजना गरिएको थियो।
कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख रजेश्मान सिंह, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, धर्मगुरुहरू तथा स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो। प्रमुख अतिथिहरूले मन्दिरको ऐतिहासिक र धार्मिक महत्वबारे चर्चा गर्दै यस्तो आयोजनाले धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई मजबुत बनाउने बताएका छन्।
यस अवसरमा मन्दिर व्यवस्थापन समितिले भक्तजनका लागि विशेष प्रसाद वितरणको व्यवस्था गरेको थियो। हजारौँको संख्यामा भक्तजनहरू मन्दिरमा उपस्थित भई दर्शन तथा पूजापाठमा सरिक भएका थिए।
वीरगंज महानगरपालिकाले धार्मिक तथा सांस्कृतिक सम्पदाहरूको प्रवर्द्धन गर्दै आगामी दिनहरूमा पनि यस्ता भव्य कार्यक्रमहरू आयोजना गरिने प्रतिबद्धता जनाएको छ।
स्थानीय बासिन्दा तथा भक्तजनहरूले मन्दिरको प्राणप्रतिष्ठा वार्षिकोत्सव भव्य रूपमा मनाइनु धार्मिक आस्था तथा एकताको प्रतीक भएको प्रतिक्रिया दिएका छन्।
प्रतिक्रिया