श्रेणी : अन्तर्राष्ट्रिय
काठमाडौं,२० पुस । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले रुसका लागि श्रम स्वीकृति खुला गर्न सरकार गम्भीर रहेको बताएका छन्। शुक्रबार गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीसँगको भेटमा मन्त्री भण्डारीले यो विषय छिट्टै समाधान गरिने प्रतिबद्धता जनाएका हुन्।
मन्त्री भण्डारीले परराष्ट्र मन्त्रालयसँग समन्वय गरी रुसका लागि श्रम स्वीकृति खुला गर्ने प्रक्रिया अघि बढाइने बताएका छन्। “यसमा कुनै जटिल समस्या छैन। छिट्टै निर्णय गरेर श्रम स्वीकृति खुला गर्छौं,” मन्त्री भण्डारीले भने।
गैरआवासीय नेपाली संघका अध्यक्ष डा. केसीले रुसमा बसोबास गर्दै आएका नेपाली समुदायको अवस्था औंल्याउँदै सरकारले यस विषयमा पुनरावलोकन गर्नुपर्ने बताएका छन्। उनले रोजगार, व्यवसाय, र उच्च शिक्षा अध्ययनका लागि रुसमा रहेका हजारौं नेपालीहरूको आवतजावत र कागजात नवीकरणको समस्या समाधानका लागि श्रम स्वीकृति खुला गर्न आग्रह गरे।
रुस–युक्रेन युद्धका कारण वैदेशिक रोजगार विभागले २०८० पुस १९ मा रुसका लागि श्रम स्वीकृति रोकेको थियो। विभागले नेपाली कामदार युद्धरत क्षेत्रमा सेनासम्बन्धी कार्यमा संलग्न हुन सक्ने जोखिम औंल्याउँदै यस्तो निर्णय गरेको थियो।
रुसमा रोजगार, व्यवसाय, र उच्च शिक्षाका लागि रहेका नेपालीहरू श्रम स्वीकृति र नवीकरणको अभावमा समस्यामा परेका छन्। स्वीकृति रोकिनुका कारण कागजात व्यवस्थापन र वैधानिक प्रक्रियामा अवरोध उत्पन्न भएको छ।
मन्त्री भण्डारीले परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर यो समस्या चाँडै समाधान गरिने बताएका छन्। उनले रुसमा बसोबास गरिरहेका नेपालीहरूलाई सुरक्षित बनाउँदै नयाँ श्रम स्वीकृति प्रक्रिया लागू गरिने आश्वासन दिए।
सरकारले श्रम स्वीकृति पुनःसञ्चालन गरे नेपाली कामदारलाई रोजगारीको अवसर खुला हुने र रुसमा रहेका नेपालीहरूको समस्या समाधान हुने अपेक्षा गरिएको छ। यो निर्णयले वैदेशिक रोजगारीको क्षेत्रमा थप सहजता ल्याउने विश्वास गरिएको छ।
प्रतिक्रिया