वीरगन्ज :

काठमाडौंवासीलाई चौबीसै घण्टा स्वच्छ खानेपानी उपलब्ध गराउने तयारी

श्रेणी : प्रदेश

8 months
Pradeep Sah
2.9kViews
1587 Shares

काठमाडौं,१० पुस । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकाका नागरिकलाई बाह्रै महिना मेलम्चीको स्वच्छ र सफा खानेपानी उपलब्ध गराउन ठोस पहल थालिएको जानकारी दिएका छन्। मन्त्रालयका कर्मचारी र पदाधिकारीसँगको बुधबारको छलफलमा मन्त्री यादवले उपत्यकामा चौबीसै घण्टा मेलम्चीको शुद्ध खानेपानी आपूर्ति सुनिश्चित गर्न योजना तर्जुमा गरी काम अघि बढाउन निर्देशन दिए।

मन्त्री यादवले अधुरा कामलाई तीव्र रूपमा सम्पन्न गरी नागरिकले प्रत्यक्ष लाभ लिने वातावरण तयार गर्नुपर्नेमा जोड दिँदै भने, “काठमाडौंवासीले बाह्रै महिना शुद्ध र सफा पानी पाउने व्यवस्था गर्नु हाम्रो प्राथमिकता हो। मन्त्रालयले आवश्यक सहयोग र समन्वयमा कुनै कमी राख्ने छैन।”

मेलम्चीको खानेपानी उपत्यकामा ल्याउन सिन्धुपाल्चोकको हेलम्बुबासी र स्थानीय संघर्ष समितिहरूसँग भएका विगतका सहमति कार्यान्वयन गर्न मन्त्रालयले आवश्यक पहल गर्ने मन्त्री यादवले बताएका छन्। उनले नागरिकका समस्या समाधान गर्नु सरकारको दायित्व रहेको भन्दै ती सहमतिहरू व्यवहारमा उतार्न निर्देशन दिए।

गत असोज ११ गतेको बाढीले क्षतिग्रस्त बनाएको ललितपुरको धोबीघाट फोहर पानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याउन मन्त्रालयले निर्देशन दिएको छ। मन्त्री यादवले क्षतिग्रस्त पाइपहरूको मर्मत तथा प्रशोधन केन्द्रको पुनर्निर्माण कार्यलाई तीव्रता दिन उपत्यका खानेपानी लिमिटेड र मातहतका निकायहरूलाई आग्रह गरेका छन्।

उपत्यका खानेपानी लिमिटेड आयोजनाका प्रशासन प्रमुख राजेन्द्रबहादुर बमका अनुसार धोबीघाटमा निर्माणाधीन प्रशोधन केन्द्र अन्तिम चरणमा पुगेको अवस्थामा आएको बाढीले संरचनामा ठूलो क्षति पुर्‍याएको छ। “हामी मर्मत कार्यलाई शीघ्र सम्पन्न गरी केन्द्रलाई सञ्चालनमा ल्याउने तयारीमा छौं,” उनले भने।
मन्त्री यादवले खानेपानी पाइपहरूको चुहावट नियन्त्रण गर्न र खानेपानीसम्बन्धी समस्या भएका क्षेत्रमा तत्काल जनशक्ति परिचालन गर्न पनि निर्देशन दिएका छन्। “जहाँ-जहाँ पानीको समस्या छ, त्यहाँ तुरुन्तै टोली खटाएर समस्या समाधान गर्नुपर्छ,” उनले भने।

मन्त्रालयले मेलम्ची आयोजनाका साथै अन्य आयोजनाहरूलाई पनि योजनाबद्ध रूपमा अघि बढाउने र सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *