श्रेणी : अन्तर्राष्ट्रिय
काठमाडौँ,०९ पुस । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनामा वैदेशिक रोजगारीका नाममा १९ करोड ३९ लाखभन्दा बढी रकम ठगी भएको खुलासा भएको छ। वैदेशिक रोजगार विभागमा परेका ४ हजार ८८ ठगीका उजुरीहरूले यो तथ्याङ्क सार्वजनिक गरेका हुन्।
प्राप्त विवरणअनुसार ठगीका घटना प्रायः आफन्त, स्थानीय एजेन्ट, रोजगार कम्पनी, ट्राभल एजेन्सी, र कन्सल्टेन्सीहरूबाट हुने गरेका छन्। उजुरीमाथि फस्र्योटका क्रममा हालसम्म १९ करोडभन्दा बढी क्षतिपूर्ति भराइएको छ।
विभागका प्रहरी शाखामा परेका १,७०८ उजुरीमध्ये १,६४४ उजुरी फस्र्योट भएका छन्। मुद्दा तथा अनुसन्धान शाखामा १,५६१ उजुरी परेका छन्, जसमा १४ करोड ६७ लाख रुपैयाँ क्षतिपूर्ति दाबी गरिएको छ। उद्धार तथा राहत शाखामा परेका ८२० उजुरीमध्ये ४७७ फस्र्योट भए, जसबाट चार करोडभन्दा बढी रकम क्षतिपूर्ति दिलाइएको छ। ७८ वटा मुद्दा अदालतमा दायर भएका छन्, जसमा नौ करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ति दाबी गरिएको छ।
महानिर्देशक सूर्यबहादुर खत्रीका अनुसार, अधिकतर ठगी युरोप, अमेरिका, अस्ट्रेलिया जस्ता देशहरूमा पठाउने नाममा हुने गरेको छ। पढेलेखेका व्यक्तिहरूसमेत ठगीको शिकार हुने गरेका छन्।
खाडी मुलुक र मलेसिया जाने श्रमिकभन्दा अमेरिका, क्यानाडा, पोर्चुगलजस्ता देशका नाममा ठगीका घटना धेरै देखिएको छ। ठगीमा एजेन्टहरूको संलग्नता उच्च छ भने व्यक्तिगत उजुरीहरूको कानुनी प्रक्रियामा जानुपर्ने घटना बढी रहेको विभागले जनाएको छ।
विभागले प्रमाण भएका उजुरीमा कारबाही र क्षतिपूर्तिको व्यवस्था गर्दै आएको छ। तर, ठगी नियन्त्रणका लागि कडा कानुनी प्रवर्तन र जनचेतनामा जोड दिनुपर्ने आवश्यकता देखिएको छ।
वैदेशिक रोजगारीका नाममा भइरहेका यस्ता घटनाहरूले श्रमिकहरूको भविष्यमा गम्भीर असर पुर्याएको र समस्या समाधानमा थप प्रयास गर्नुपर्ने देखिन्छ।
प्रतिक्रिया