
बीरगन्ज,०९ जेठ । विश्व हिन्दू परिषद् नेपालले नेपाल हिन्दू पत्रकार संघलाई ३० थान प्रेश ज्याकेट हस्तान्तरण गरेको छ। शनिबार बीरगन्जस्थित माईस्थान अतिथि सदनको सभाहलमा आयोजित कार्यक्रममा परिषद्ले उक्त सहयोग प्रदान गरेको हो।
कार्यक्रममा विश्व हिन्दू परिषद् बीरगन्ज महानगर कमिटीका अध्यक्ष ज्योति रुङ्गटाले हिन्दू पत्रकार संघ नेपालका अध्यक्ष राजन रौनियारलाई ज्याकेट हस्तान्तरण गरेका थिए। त्यस क्रममा संघका पदाधिकारी, सदस्य तथा सल्लाहकारहरूलाई पनि ज्याकेट लगाएर सम्मान गरिएको थियो।
सोही कार्यक्रममा लामो समयदेखि बीरगन्जमा सक्रिय पत्रकारिता गर्दै आएका पत्रकार दीपक चौरसियालाई हिन्दू पत्रकार संघमा आबद्ध गराइएको छ। संघका अध्यक्ष राजन रौनियार र सचिव राज सराफले उनलाई प्रेश ज्याकेट लगाइदिँदै संगठनमा स्वागत गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै परिषद्का अध्यक्ष ज्योति रुङ्गटाले पत्रकारहरूको सुरक्षा, सहजता र पहिचानलाई ध्यानमा राखेर ज्याकेट सहयोग गरिएको बताए। उनले पत्रकारहरूले समाज र राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सञ्चार क्षेत्रसँग सहकार्य जारी रहने बताए।
त्यस्तै, हिन्दू पत्रकार संघका अध्यक्ष राजन रौनियारले परिषद्ले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै प्रेश ज्याकेट पत्रकारहरूको पहिचान र जिम्मेवारीको प्रतीक भएको बताए। उनले पत्रकार दीपक चौरसियाको संगठनमा आबद्धताले संघ अझ सशक्त बन्ने विश्वास व्यक्त गरे।
राजन रौनियारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संघका सचिव राज सराफले गरेका थिए। कार्यक्रममा स्थानीय पत्रकार, सञ्चारकर्मी तथा विभिन्न सामाजिक व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।


प्रतिक्रिया