काठमाडौं,०८ साउन । झापाको भद्रपुर नाकाबाट दुई महिनाको शिशुको डाइपरभित्र ब्राउन सुगर लुकाएर नेपाल भित्र्याउने आरोपमा एक दम्पतीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा बिहीबार साँझ भद्रपुर नगरपालिका–५ स्थित बसपार्क क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा भारतको किशनगञ्ज घर भई हाल बिर्तामोड–५ बस्दै आएका ३० वर्षीय मोहित आलम, उनकी ३२ वर्षीया श्रीमती जेनेतुन खातुन र ३८ वर्षीय मोहम्मद तजरुल रहेका छन्।
प्रहरीका अनुसार उनीहरू भारतको गलगलियाबाट लागुऔषध खरिद गरी आफ्नै दुई महिनाको शिशुले लगाएको डाइपरभित्र लुकाएर नेपाल ल्याउने प्रयासमा थिए। जाँचका क्रममा डाइपरभित्र लुकाइएको ८ ग्राम ९४ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनापछि पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापाको जिम्मा लगाइएको छ।

प्रतिक्रिया