श्रेणी : प्रदेश – १
काठमाडौँ,०९ पुस । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारको मनोमानी कर प्रणालीले देशको उद्योग, व्यापार र जनजीवन तहसनहस बनाएको आरोप लगाएका छन्। उनले सरकारको कर आतंकविरुद्ध सडक संघर्षको विकल्प नरहेको स्पष्ट पारे।
आजपाको केन्द्रीय कार्यालय कोटेश्वरमा सोमबार आयोजित आम विद्यार्थी मोर्चाको काठमाडौँ उपत्यका विशेष कमिटीको बैठकलाई सम्बोधन गर्दै साहले सरकारलाई “लुटतन्त्रमा व्यस्त” भएको आरोप लगाए।
“सरकारले उद्योगी, व्यापारी र सर्वसाधारणलाई लगातार शोषण गरिरहेको छ। राज्यको ढुकुटी सिध्याएर अहिले विदेशी ऋणमा निर्भर हुँदै त्यसबाट पनि लुट मच्चाइरहेको छ। यसले नेपाली जनतालाई ऋणको भारी बोकाएर जीवनयापन कठिन बनाएको छ,” साहले भने।
उनले मनोमानी करले सबै क्षेत्र तहसनहस भएको भन्दै सर्वसाधारणलाई जीवन जिउन कठिन बनाएको बताए। साथै, वैदेशिक रोजगारीमा भइरहेको ठगी र अन्यायका विरुद्ध पनि कडा आन्दोलन आवश्यक भएको उनले बताए।
साहले जनतालाई यो कर आतंक र लुटतन्त्रको अन्त्य गर्न सडकमा उत्रन आह्वान गर्दै सरकारविरुद्ध व्यापक विरोधको तयारी गर्नुपर्ने धारणा व्यक्त गरे।
प्रतिक्रिया