श्रेणी : अन्तर्राष्ट्रिय
दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले चिनियाँ समकक्षी सी चिनफिङलाई रूस र युक्रेनमा अफ्रिकी नेताहरूले शान्ति स्थापनाका लागि आगामी मिसनबारे जानकारी गराएका छन् ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका नेता भोलोदिमिर जेलेन्स्कीले छ सदस्यीय अफ्रिकी प्रतिनिधिमण्डललाई गत महिना स्वागत गर्न सहमत भएको घोषणा गरेका रामाफोसाले बताएका थिए ।
रामाफोसाले चिनियाँ राष्ट्रपति सीलाई दिएको जानकारी अनुसार शान्ति अभियानका लागि तय गरिएको प्रतिनिधिमण्डलमा कङ्गो, इजिप्ट, सेनेगल, दक्षिण अफ्रिका, युगान्डा र जाम्बियाका राष्ट्रपति सहभागी हुनेछन् ।
चिनियाँ राष्ट्रपति सीले अफ्रिकी महाद्वीपको पहलकदमीको प्रशंसा गर्नुका साथै द्वन्द्वले मानव जीवन र अफ्रिकामा खाद्य सुरक्षामा पारेको प्रभावलाई स्वीकारेको उनको कार्यालयले जनाएको छ ।
गत फेब्रुअरीमा बेइजिङले एक पत्र जारी गर्दै द्वन्द्वको ‘राजनीतिक समाधान’ का लागि आह्वान गरेको थियो । यसपछि पश्चिमा देशहरूले यो अवस्थामा हुने वार्ताले रूसले युक्रेनमा कब्जा गरेको अधिकांश भूभाग आफ्नो नियन्त्रणमा राख्न बल पुग्ने चेतावनी दिएका थिए ।
दक्षिण अफ्रिका क्रेमलिनतर्फ ढल्केको आरोप लागेपछि दक्षिण अफ्रिकाले आफ्नो साखलाई जोगाउन खोजिरहेको बेला शान्ति अभियान घोषणा भएको हो ।
प्रतिक्रिया