श्रेणी : BANNER
वीरगंज (पर्सा), १९ असार । भारत–नेपाल सीमावर्ती क्षेत्रमा सक्रिय रहेको अन्तर्राष्ट्रिय मोटरसाइकल चोरी गिरोहमाथि भारतीय प्रहरीले ठूलो सफलता हासिल गरेको छ। रक्सौल अनुमण्डल प्रहरीले चोरीका चार वटा मोटरसाइकल बरामद गर्दै गिरोहका मुख्य सरगनासहित पाँच जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
रक्सौलका डीएसपीका अनुसार पक्राउ परेकामध्ये चार जना नेपाली नागरिक रहेका छन्। प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका एक आरोपितले दिएको सूचनाका आधारमा थप चार जनालाई पक्राउ गर्न प्रहरी सफल भएको हो।
अनुसन्धानबाट उक्त समूहले सीमावर्ती क्षेत्रबाट मोटरसाइकल चोरी गरी नेपालतर्फ ल्याएर बिक्री–वितरण गर्ने गरेको प्रारम्भिक तथ्य खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिहरूको साथबाट चार वटा चोरीका मोटरसाइकल बरामद गरिएको छ भने ती सवारीसाधनको वास्तविक धनीको पहिचान गर्ने प्रक्रिया पनि अघि बढाइएको बताइएको छ।
प्रहरीका अनुसार यस प्रकरणमा थप अनुसन्धान जारी छ। चोरीको सञ्जालमा आबद्ध अन्य व्यक्तिको पहिचान तथा खोजीलाई समेत तीव्र बनाइएको जनाउँदै सीमापार सञ्चालन हुने सवारीसाधन चोरीको नेटवर्कमाथि निगरानी अझ कडा पारिएको जनाएको छ। तस्बिरः रेसखबर

प्रतिक्रिया