रौतहट,०६ साउन । जिल्ला प्रशासन कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/८३ मा १२ हजार २७२ जनालाई वंशजका आधारमा नागरिकता प्रदान गरेको जनाएको छ। सोही अवधिमा ८ हजार ६०७ जनाले राहदानी प्राप्त गरेका छन्।
कार्यालयका अनुसार गत आर्थिक वर्षमा ११ हजार १०० जनालाई नागरिकताको प्रतिलिपि वितरण गरिएको छ भने ६३८ जनाले वैवाहिक अंगीकृत नागरिकता प्राप्त गरेका छन्। यस्तै, ३२ हजार ९९० जनाले राष्ट्रिय परिचयपत्रका लागि दर्ता गराएका छन् भने २ हजार ६२५ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले राहदानी सेवाबाट मात्रै ५ करोड ८१ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको जनाएको छ। शान्ति–सुरक्षा व्यवस्थापनतर्फ सीमा समन्वय बैठक, जिल्ला सुरक्षा समिति बैठक, कारागार अनुगमन तथा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार सेवा प्रवाहलाई थप सहज, छिटो र पारदर्शी बनाउन राहदानी र राष्ट्रिय परिचयपत्रका लागि निःशुल्क फाराम भर्ने व्यवस्था, टोकन प्रणाली, नागरिक सहायता कक्ष, गुनासो व्यवस्थापन प्रणाली, अभिलेख डिजिटाइजेसन, एकद्वार सेवा तथा ‘बिचौलिया प्रवेश निषेध’ अभियान सञ्चालन गरिएको छ।
उनले डिजिटल प्रणाली र सेवा सुधारका उपायहरूले सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउन उल्लेखनीय सहयोग पुगेको बताए।

प्रतिक्रिया