वीरगन्ज :

१३ वर्षपछि वीरगञ्जमा सडक विस्तार सुरु, बिहानैदेखि डोजरको एक्सन

श्रेणी : BANNER

2 hours
Pradeep Sah
2.5kViews
1915 Shares

बीरगन्ज,०६ वैशाख । लामो समयदेखि रोकिएको मुख्य सडक विस्तार अन्ततः कार्यान्वयन चरणमा प्रवेश गरेको छ। आइतबार बिहानैदेखि प्रशासनले डोजर र अन्य उपकरणसहित संरचना हटाउने काम सुरु गरेको हो। बिहान करिब ५ बजेदेखि विभिन्न स्थानमा एकैसाथ अभियान अघि बढाइएको बताइएको छ।


सडक डिभिजन कार्यालय हेटौंडा का अनुसार त्रिभुवन राजपथ अन्तर्गत पर्ने गण्डक चोकदेखि मितेरी पुलसम्मको सडकलाई दायाँ–बायाँ २५–२५ मिटर विस्तार गर्ने योजना अनुसार काम अघि बढाइएको हो। विस्तार कार्यलाई तीव्रता दिन पाँचवटा बिन्दुबाट एकैसाथ संरचना हटाउने काम सुरु गरिएको छ।
अभियानमा डोजर, एक्साभेटरलगायत गरी कम्तीमा ९ वटा हेभी इक्विपमेन्ट परिचालन गरिएको छ भने सम्भावित अवरोध रोक्न सुरक्षाकर्मीको उपस्थिति पनि बढाइएको छ। प्रशासनका अनुसार सडकको केन्द्ररेखाबाट २५ मिटर भित्र पर्ने घर, टहरा तथा अन्य भौतिक संरचनाहरू हटाइँदैछन्।
पर्साका प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद दाहाल ले सम्बन्धित सबै निकायसँग समन्वय गरेर काम अघि बढाइएको जानकारी दिएका छन्। वीरगञ्ज महानगरपालिका, प्रहरी तथा अन्य सरोकारवाला निकायको सहकार्यमा अभियान सञ्चालन भइरहेको उनको भनाइ छ।


यसअघि सडक विस्तारका विषयमा परेको मुद्दामा सर्वोच्च अदालत ले २०८१ फागुन २८ गते सरकारकै पक्षमा फैसला गर्दै रिट खारेज गरेपछि प्रक्रिया अघि बढाउने कानुनी बाटो खुलेको थियो। करिब १,२०० घरधनीले मुआब्जा र वैकल्पिक व्यवस्थाको माग राख्दै अदालत पुगेका कारण झन्डै १३ वर्षसम्म यो आयोजना अन्योलमा परेको थियो।
अब अदालतको निर्णयपछि प्रशासनले चरणबद्ध रूपमा संरचना हटाउँदै सडक विस्तारलाई गति दिएको छ। यससँगै लामो समयदेखि अल्झिएको आयोजना पुनः सक्रिय बनेको छ भने स्थानीय स्तरमा यसको प्रभाव र प्रतिक्रिया समेत देखिन थालेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *