वीरगन्ज :

हरि खेतान बहुमुखी क्याम्पसको सञ्चालक समिति पुर्नगठन, अध्यक्षमा रामऔतार खेतान

श्रेणी : BANNER

1 hour
Pradeep Sah
2.5kViews
1888 Shares

बीरगन्ज,१९ जेठ । पर्साको बीरगन्जस्थित त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सामुदायिक क्याम्पस हरि खेतान बहुमुखी क्याम्पसमा लामो समयदेखि देखिँदै आएको आन्तरिक विवाद र बेथिति समाधानका लागि नयाँ कदम चालिएको छ।

क्याम्पसलाई विवादरहीत, पारदर्शी र सुव्यवस्थित ढङ्गले सञ्चालन गर्ने उद्देश्यका साथ नयाँ सञ्चालक समिति पुनर्गठन गरिएको हो। यस नयाँ नेतृत्वको आगमनसँगै क्याम्पसभित्र लामो समयदेखि जकडिएर रहेको विवाद अब सधैँका लागि अन्त्य हुने र शैक्षिक वातावरणमा ठोस सुधार आउने अपेक्षा सरोकारवालाहरूले लिएका छन्।

क्याम्पस प्रशासनद्वारा सार्वजनिक गरिएको आधिकारिक विज्ञप्ति अनुसार जेठ १६ गते क्याम्पस सञ्चालक समितिको पुनर्गठन भएको हो। क्याम्पसका नयाँ पदाधिकारीहरूको चयन कुनै पनि मतभेदबिना पूर्ण रूपमा सर्वसम्मत ढङ्गबाट गरिएको क्याम्पस प्रमुखद्वारा जारी सूचनामा उल्लेख छ।

पुनर्गठित क्याम्पस सञ्चालक समितिको अध्यक्षमा डा‍ रामऔतार खेतान सर्वसम्मत चयन हुनुभएको छ। त्यसैगरी उपाध्यक्षमा हरि प्रसाद गौतम, कोषाध्यक्षमा सुरेश कुमार रुंगटा, सदस्यहरूमा वेद बहादुर कार्की र श्रीमती बर्जित कौर चयन हुनुभएको छ भने सदस्य सचिवको जिम्मेवारी किशोरी रायले पाउनुभएको छ। क्याम्पसको सल्लाहकारमा भने जय प्रकाश खेतानलाई मनोनीत गरिएको छ।

क्याम्पस प्रशासनले सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा सरोकारवाला वर्गलाई समितिको पुनर्गठनबारे औपचारिक जानकारी गराउँदै यो नयाँ जुझारु टिमले क्याम्पसको चौतर्फी र उत्तरोत्तर प्रगतिका लागि प्रतिबद्ध भएर काम गर्ने विश्वास व्यक्त गरेको छ।

नयाँ नेतृत्वले जिम्मेवारी सम्हालेसँगै बीरगन्जको ऐतिहासिक सामुदायिक शैक्षिक धरोहरको रूपमा रहेको हरि खेतान क्याम्पसले आफ्नो पुरानो साख फर्काउने र राजनीतिक तथा प्रशासनिक विवादहरूलाई किनारा लगाउँदै विशुद्ध शैक्षिक विकासमा केन्द्रित हुनेमा स्थानीयवासी तथा विद्यार्थीहरू निकै आशावादी देखिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *