वीरगन्ज :

हरि खेतान बहुमुखी कलेजको ‘एक घर, एक बिरुवा’ अभियान, ४ सयभन्दा बढी बिरुवा वितरण

श्रेणी : मधेस

2 days
Pradeep Sah
1.9kViews
1533 Shares

बीरगन्ज,०६ साउन । ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर र सामुदायिक प्रहरी सेवाको संयुक्त आयोजनामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत बीरगन्जस्थित हरि खेतान बहुमुखी कलेजमा ‘एक घर, एक बिरुवा’ अभियान सञ्चालन गरिएको छ। अभियानअन्तर्गत ४ सयभन्दा बढी विभिन्न प्रजातिका बिरुवा वितरण गर्नुका साथै कलेज परिसरमा वृक्षारोपण गरिएको हो।

वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा कलेजका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा बिरुवा वितरणसँगै सामूहिक वृक्षारोपण गरिएको र प्रत्येक विद्यार्थीलाई आफ्नै घरमा कम्तीमा एउटा बिरुवा रोपेर त्यसको संरक्षण गर्न आग्रह गरिएको आयोजकले जनाएको छ।

ग्रिन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देविसहाय मीणा प्रमुख अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा बीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, हरि खेतान बहुमुखी कलेजका अध्यक्ष रामवतार खेतान, समाजसेवी सुरेश रुङटा, जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा डीएसपी चक्रबहादुर मल्ल, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक विक्रम सुवेदी, युवा समाजसेवी दिलीप कार्कीलगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष जयप्रकाश खेतानले वातावरण संरक्षण आजको सबैभन्दा महत्वपूर्ण आवश्यकता भएको उल्लेख गर्दै हरियाली विस्तारका लागि प्रत्येक नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताए। उनले बिरुवा रोप्नु मात्र पर्याप्त नहुने भन्दै त्यसको नियमित संरक्षण गर्न पनि सबैलाई आग्रह गरे।

प्रमुख अतिथि महावाणिज्यदूत देविसहाय मीणाले यस्ता अभियानले वातावरण संरक्षणप्रति जनचेतना फैलाउने विश्वास व्यक्त गर्दै विशेषगरी युवाहरूलाई प्रकृति संरक्षणमा सक्रिय भूमिका खेल्न आग्रह गरे।

कार्यक्रमका अन्य वक्ताहरूले पनि हरित शहर निर्माण, वातावरण संरक्षण तथा सामुदायिक प्रहरी र नागरिकबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउन यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमको समापनमा विद्यार्थीहरूलाई ४ सयभन्दा बढी बिरुवा वितरण गरिएको तथा कलेज परिसरमा सामूहिक वृक्षारोपण गरिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *