वीरगंज, ३० असार । पर्साको कालिकामाई गाउँपालिकाका कर्मचारीहरूले कर्मचारी सुरक्षाप्रति स्थानीय प्रशासन गम्भीर नभएको आरोप लगाउँदै चरणबद्ध आन्दोलनको घोषणा गरेका छन्।
असार २३ गते गाउँपालिकामा भएको घटनाको विरोधमा यसअघि ‘पेन डाउन’ आन्दोलन गरेका कर्मचारीहरूले दोषीमाथि कारबाही प्रक्रिया अघि नबढाइएकाले आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका हुन्।
मंगलबार वीरगञ्जस्थित गेटवे होटलमा आयोजित पत्रकार सम्मेलनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार अधिकारीले घटनाबारे जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा तथा इलाका प्रहरी कार्यालय पोखरिया लगायतका निकायलाई लिखित तथा मौखिक रूपमा जानकारी गराइसकिएको भए पनि हालसम्म दोषीविरुद्ध कारबाही प्रक्रिया अघि नबढेको बताए।
उनका अनुसार असार २३ गते गाउँपालिका कार्यालयभित्र जनप्रतिनिधिसहित रजनीश कुशवाहा तथा वडा नं. ३ का वडाध्यक्ष सञ्जय पटेललगायतको समूहले योजनाबद्ध रूपमा कर्मचारीहरूमाथि गालीगलौज गर्दै कुटपिट गरेको थियो। तर, उक्त घटनासम्बन्धी जाहेरीसमेत प्रहरीले दर्ता गर्न नमानेको उनको आरोप छ।
प्रमुख प्रशासकीय अधिकृत अधिकारीले दोषीलाई कारबाही नहुँदा कर्मचारीहरूको मनोबल खस्किएको, कार्यस्थलमा असुरक्षाको भावना बढेको र कर्मचारीहरू त्रसित अवस्थामा काम गर्न बाध्य भएको बताए। उनले दोषीलाई कानुनी दायरामा ल्याई निष्पक्ष छानबिन तथा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरे।
पत्रकार सम्मेलनमा प्रशासन प्रमुख सरोज साहले आफूलाई ‘जेनजी युवा’को अगुवा बताउने केही व्यक्तिहरूले गाउँपालिकाका कर्मचारीहरूलाई मानसिक रूपमा त्रसित बनाउने प्रयास गरिरहेको आरोप लगाए। उनले गाउँपालिकामा पटक–पटक कर्मचारीमाथि कुटपिट तथा आक्रमणका घटना दोहोरिएको उल्लेख गर्दै तत्काल कारबाही नभए चरणबद्ध आन्दोलनका कार्यक्रम लागू गरिने जानकारी दिए।
घोषित आन्दोलन कार्यक्रमअनुसार साउन १ गते कर्मचारीहरूले हातमा कालोपट्टी बाँधेर काम गर्नेछन्। त्यसैगरी साउन ४ र ५ गते जिल्ला प्रशासन कार्यालय पर्साको मूल गेटमा धर्ना दिइनेछ। यदि त्यसपछि पनि माग सम्बोधन नभए साउन ६ गतेदेखि गाउँपालिकाको सम्पूर्ण सेवा ठप्प पार्दै गाउँपालिका कार्यालयको साँचो जिल्ला प्रशासन कार्यालयका प्रमुखलाई बुझाइने कर्मचारीहरूले बताएका छन्।
पत्रकार सम्मेलनमा कुटपिटबाट घाइते कर्मचारी चन्दन चौरसियाले आफूलाई कुनै कारणबिना योजनाबद्ध रूपमा आक्रमण गरिएको दाबी गर्दै दोषीमाथि कारबाही गरी न्याय दिलाउन स्थानीय प्रशासनसँग माग गरे।
उनले हालसम्म प्रहरीले आफ्नो जाहेरी दर्ता गर्न नमानेको र घटनामा संलग्न भनिएका व्यक्तिहरू खुलेआम गाउँमा हिँडडुल गरिरहेकाले आफू अझै असुरक्षित महसुस गरिरहेको बताए। प्रहरीले अहिलेसम्म जाहेरीसमेत दर्ता नगरेको विषय गम्भीर भएको उल्लेख गर्दै उनले यसप्रति आफूहरू आश्चर्यचकित भएको प्रतिक्रिया दिए।
पत्रकार सम्मेलनमा उपस्थित कर्मचारीहरूले घाइते कर्मचारी चन्दन चौरसिया निर्दोष रहेको दाबी गर्दै घटनामा संलग्न दोषीहरूलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरेका छन्। कर्मचारीहरूले आफ्नो सुरक्षाप्रति स्थानीय प्रशासनले आवश्यक संवेदनशीलता र जिम्मेवारी नदेखाएको गुनासोसमेत गरेका छन्।

प्रतिक्रिया