बीरगन्ज,०४ साउन । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–१ मा रहेको ऐतिहासिक तथा धार्मिक स्थल श्री श्री १०८ बाबा दुधेश्वरनाथ महादेव रामभौडी भाथा धाममा यस वर्षको वार्षिक मेला साउन १४ गतेदेखि सुरु हुने भएको छ। पर्सा राष्ट्रिय निकुञ्जको घना जंगलको बीचमा अवस्थित यो धाममा सञ्चालन हुने मेला एक महिनासम्म चल्नेछ।
मेला व्यवस्थापन समितिका अध्यक्ष अलखदेव चौधरी थारूका अनुसार साउन १० गतेदेखि धाममा श्रद्धालुहरूको आवतजावतका लागि प्रवेश खुला गरिनेछ भने साउन १४ गते औपचारिक उद्घाटनसँगै मेला सुरु हुनेछ। यस वर्ष साउनको पहिलो सोमबार साउन १८ गते परेकाले त्यस दिन विशेष रूपमा भक्तजनको ठूलो भीड हुने अपेक्षा गरिएको छ।
पुस्तौंदेखि सञ्चालन हुँदै आएको भाथा धामको मेला नेपालका विभिन्न जिल्लासँगै भारतका सीमावर्ती राज्यहरूबाट आउने श्रद्धालुहरूको प्रमुख आकर्षण बनेको छ। भक्तजन यहाँ भगवान् दुधेश्वरनाथ महादेवको दर्शन, जलाभिषेक तथा पूजा–आराधनाका लागि पुग्ने गरेका छन्।
मेला व्यवस्थापन समितिका सदस्य शम्भु यादवका अनुसार साउन महिनाभर विशेष मेला लाग्ने परम्परा रहेको छ। यद्यपि वैशाख, माघे पञ्चमी र महाशिवरात्रिमा पनि विशेष पूजा तथा मेला लाग्ने भए पनि साउनको मेला धार्मिक महत्व, भक्तजनको सहभागिता र आकर्षणका हिसाबले सबैभन्दा ठूलो मानिन्छ।
श्रद्धालुहरूको सुविधालाई ध्यानमा राख्दै धाम क्षेत्रमा सडक मर्मत, कल्भर्ट निर्माण, स्वच्छ खानेपानी, शौचालय, विद्युत्, सरसफाइ तथा सुरक्षा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको समितिले जनाएको छ। पूजा सामग्री, प्रसाद, भोजन, खेलकुद तथा अन्य व्यापारिक स्टलहरू साउन १० गतेदेखि सञ्चालनमा आउनेछन्।
समितिका अनुसार यस वर्ष मेलालाई विगतभन्दा बढी व्यवस्थित, सुरक्षित र सुविधासम्पन्न बनाउन विशेष तयारी गरिएको छ। भीड व्यवस्थापन, स्वास्थ्य सेवा, आपतकालीन उद्धार, सरसफाइ तथा महिला र पुरुषका लागि छुट्टाछुट्टै स्नान तथा कपडा फेर्ने स्थानको व्यवस्था मिलाइएको छ।
धार्मिक विश्वासका अनुसार सयौं वर्ष पुरानो पहाडको टुपोमा रहेको दुधेश्वरनाथ महादेव मन्दिरमा श्रद्धापूर्वक पूजा–अर्चना गर्दा पारिवारिक सुख–शान्ति, सन्तान प्राप्ति तथा मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ। यही विश्वासका कारण प्रत्येक वर्ष हजारौं भक्तजन यहाँ दर्शनका लागि पुग्ने गरेका छन्।
स्थानीयवासीका अनुसार भाथा धाम धार्मिक आस्थाको केन्द्र मात्र नभई धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा पनि विकास हुँदै गएको छ। मेला अवधिमा भक्तजनको चहलपहलले स्थानीय होटल, यातायात, व्यापार तथा साना व्यवसायमा उल्लेखनीय आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ।
ग्रामीण पत्रकार चिरञ्जीवी यादवले भाथा धामको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक महत्वलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी रूपमा प्रचार–प्रसार गर्न सके यो क्षेत्र नेपालको प्रमुख धार्मिक पर्यटन गन्तव्य बन्न सक्ने सम्भावना रहेको बताए।
मेला व्यवस्थापन समितिले सम्पूर्ण श्रद्धालुहरूलाई अनुशासित, सुरक्षित र स्वच्छ वातावरणमा भगवान् दुधेश्वरनाथ महादेवको दर्शन तथा पूजा गरी पुण्य लाभ लिन मेलामा सहभागी हुन आग्रह गरेको छ।

प्रतिक्रिया