वीरगन्ज :

सांसद अरबिन्द साहविरुद्ध कालो मसी दल्ने धम्की, पोस्ट गर्ने युवक प्रहरी नियन्त्रणमा

श्रेणी : BANNER

18 hours
Pradeep Sah
2.9kViews
1178 Shares

बीरगन्ज,०७ साउन । बारा निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अरबिन्द साहविरुद्ध सामाजिक सञ्जालमा लेखिएको पोस्टका विषयमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बारा निवासी निजामुद्दिन अन्सारी रहेका छन्। उनले सांसद साहले चुनावी घोषणापत्रअनुसार काम नगरेको आरोप लगाउँदै फेसबुकमा श्रृङ्खलाबद्ध स्टाटस लेखेका थिए। ती पोस्टमध्ये एकमा सांसदलाई भेटेको स्थानमै कालो मसी दल्ने चेतावनीसमेत दिइएको थियो।

सांसद साहले दिएको लिखित उजुरीका आधारमा अन्सारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरले जानकारी दिए। उनका अनुसार अन्सारीलाई हाल इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको छ भने आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतमा उपस्थित गराइने तयारी भइरहेको छ।

एसपी कुँवरले सामाजिक सञ्जालमार्फत घृणा, द्वेष वा धम्कीपूर्ण अभिव्यक्ति फैलाउने गतिविधि विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धानको विषय बन्न सक्ने उल्लेख गर्दै कसुरको प्रकृतिअनुसार कानुनी प्रक्रिया अघि बढाइने बताए।

अन्सारीले फेसबुकमा सांसद साहलाई चुनावी प्रतिबद्धता पूरा नगरेको आरोप लगाउँदै सार्वजनिक रूपमा कालो मसी दल्ने चुनौती दिएका थिए। अर्को पोस्टमा उनले भरतचोकमा भेट्न आग्रह गर्दै चुनावी वाचा पूरा नगरेको भए कालो मसी दलेर काठमाडौं फर्काइने चेतावनीसमेत दिएका थिए।

यता, अन्सारीका निकटस्थहरूले भने उनले कुनै भौतिक आक्रमण वा प्रत्यक्ष अवरोध नगरी केवल सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेको दाबी गरेका छन्। नेपाली भाषा उनको पहिलो भाषा नभएकाले प्रयोग भएका केही शब्द कडा देखिएको हुन सक्ने उनीहरूको भनाइ छ।

घटनाबारे प्रहरीले विद्युतीय कारोबार ऐनअन्तर्गत थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *