श्रेणी : BANNER
बीरगन्ज, ११ वैशाख । पर्सा जिल्लामा वैशाखमै भूमिगत जलस्तर तीव्र गतिमा घट्न थालेपछि खानेपानी अभावले गम्भीर रूप लिन थालेको छ। वर्षौं देखि प्रयोग हुँदै आएका चापाकलहरू सुक्दै जानुका साथै कतिपयमा पानीको सट्टा हावा मात्र निस्कने वा धमिलो पानी आउने समस्या देखिएको छ, जसले दैनिक जनजीवन नै प्रभावित बनाएको छ।
वीरगञ्ज महानगरपालिकाभित्र पर्ने रानीघाट, छपकैया, नगवा र मुडली क्षेत्रमा समस्या सबैभन्दा बढी चर्किएको छ। यी बस्तीहरूमा अधिकांश चापाकल निष्क्रिय बन्दै गएका छन्, जसका कारण स्थानीयवासीहरू पानीको जोहो गर्न छिमेकीका डिप बोरिङ वा टाढा रहेका सार्वजनिक धारातर्फ धाउन बाध्य छन्।
स्थानीयहरूका अनुसार यसअघि पानी अभावको समस्या प्रायः जेठ–असारतिर देखिने गरेकोमा यसपटक वैशाखमै संकट सुरु हुनु असामान्य संकेत हो। यसले आगामी दिनमा अवस्था झनै जटिल बन्ने अनुमान गरिएको छ।
जलविज्ञहरूका भनाइमा तराईको भूमिगत पानीको मुख्य स्रोत चुरे र भावर क्षेत्र हो। तर चुरे क्षेत्रमा बढ्दो वन विनाश, अव्यवस्थित उत्खनन, ढुङ्गा–गिट्टी–बालुवाको अन्धाधुन्ध दोहन र जथाभावी सडक निर्माणका कारण पानी जमिनमुनि सञ्चित हुने प्रक्रिया कमजोर हुँदै गएको छ। परिणामस्वरूप जलस्तर तीव्र रूपमा घटिरहेको देखिन्छ।
यसैबीच, जलवायु परिवर्तनको असर पनि स्पष्ट रूपमा देखिन थालेको छ। सामान्यतया सिँचाइको उच्च माग हुने समयमा मात्र देखिने समस्या यस वर्ष खेती सुरु हुनुअघि नै देखिनु चिन्ताजनक मानिएको छ।
खानेपानी संस्थानको पाइपलाइन पुगेका केही क्षेत्रमा आंशिक राहत भए पनि चापाकलमा निर्भर विपन्न समुदाय सबैभन्दा बढी मारमा परेका छन्। बढ्दो संकटलाई ध्यानमा राख्दै स्थानीय सरकार र सम्बन्धित निकायले दीर्घकालीन समाधानका लागि प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता टड्कारो देखिएको छ।

प्रतिक्रिया