श्रेणी : BANNER
चितवन २२ असार । विशेष सूचनाका आधारमा चितवन प्रहरीले सञ्चालन गरेको दुई दिने अपरेसनमा ट्रामाडोलसहित ठूलो परिमाणमा लागुऔषध बरामद गर्दै पाँच जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–७ भालुमारा र कालिका नगरपालिका–६ हरिहर टोल क्षेत्रमा लागुऔषधको अवैध कारोबार भइरहेको सूचनापछि असार २० र २१ गते छुट्टाछुट्टै अपरेसन सञ्चालन गरिएको थियो।
प्रहरी चौकी जुटपानी र प्रहरी चौकी खोलेसीमलबाट परिचालित संयुक्त टोलीले पहिलो दिनको कारबाहीमा कालिका नगरपालिका–७ का २१ वर्षीय विजय सुनार, भरतपुर महानगरपालिका–७ का ३१ वर्षीय विनोद जोशी, इच्छाकामना गाउँपालिका–७ का २५ वर्षीय साजन थापा मगर तथा कालिका नगरपालिका–७ का २३ वर्षीय रोमन सुनारलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
उनीहरूको साथबाट ट्रामाडोल ३ हजार ४ सय क्याप्सुल, एनआरगन ३ हजार ८ सय ९० क्याप्सुल तथा ना ४६ प ९५२१, ना ९१ प ३३९८ र ना ४६ प ८६८८ नम्बरका तीन वटा मोटरसाइकल बरामद गरिएको छ।
त्यसको भोलिपल्ट असार २१ गते गरिएको अर्को अपरेसनमा कालिका नगरपालिका–६ निवासी २७ वर्षीय दिवस न्यौपाने पक्राउ परेका छन्। प्रहरीले उनको साथबाट ट्रामाडोल ६ हजार ८० क्याप्सुल र एनआरगन ४ हजार २ सय क्याप्सुल बरामद गरेको जनाएको छ।
दुवै दिनको कारबाहीबाट प्रहरीले कुल ९ हजार ६ सय ८० ट्रामाडोल र ८ हजार ९० एनआरगन गरी १७ हजार ७ सय ७० क्याप्सुल बरामद गरेको छ।
पक्राउ परेका पाँचै जनाविरुद्ध लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत चितवन जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
प्रहरीले लागुऔषधको अवैध कारोबार नियन्त्रणलाई प्राथमिकतामा राख्दै विशेष सूचनाका आधारमा निगरानी र कारबाहीलाई आगामी दिनमा पनि निरन्तर सशक्त बनाइने स्पष्ट पारेको छ।

प्रतिक्रिया