रौत
हट,०६ जेठ । रौतहटको फतुवा विजयपुर नगरपालिका–४ टेंग्राहा गाउँमा मंगलबार राति लगातार तीन वटा घरमा चोरी भएपछि स्थानीयवासी त्रसित बनेका छन्। एकै रात शृङ्खलाबद्ध रूपमा भएका घटनाले गाउँको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ।
प्रहरीका अनुसार ठूलो बलुवा टोलका स्थानीय राजेन्द्र राय यादवको घरमा सुरुङ बनाएर चोरी गरिएको छ। चोरहरूले घरबाट सुनचाँदीका गरगहना, नगद तथा अन्य बहुमूल्य सामग्री चोरी गरेका छन्। प्रारम्भिक अनुमानअनुसार करिब १० लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको बताइएको छ।
त्यसैगरी सोही टोलका नन्द राय यादवको घरमा पनि सुरुङ बनाएर प्रवेश गर्ने प्रयास गरिएको थियो। तर घरधनी जाग्राम रहेका कारण चोरहरू चोरी गर्न असफल भएको स्थानीयले बताएका छन्।
यस्तै सानो बलुवा टोलका जामुन ठाकुर हजामको घरमा समेत चोरी भएको छ। घर निर्माणका लागि राखिएको नगद, सुनचाँदीका गरगहना र अन्य सामग्री चोरी भएको परिवारले जनाएको छ। उक्त घरबाट पनि करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
घटनापछि गाउँमा भयको वातावरण सिर्जना भएको छ। स्थानीयवासीले पछिल्लो समय प्रहरी गस्ती कमजोर हुँदा चोरीका घटना बढ्दै गएको गुनासो गरेका छन्। उनीहरूले रातिको सुरक्षा व्यवस्था कडा बनाउन र नियमित गस्ती बढाउन माग गरेका छन्।
प्रहरीले घटनामा संलग्न भएको आशंकामा चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ। दोषीलाई कानुनी दायरामा ल्याइने प्रहरीको भनाइ छ।


प्रतिक्रिया