वीरगन्ज :

राजावादी प्रदर्शनका घाइतेमध्ये १३ जनाको उपचार जारी, ११५ जना डिस्चार्ज

श्रेणी : प्रदेश

1 year
Pradeep Sah
2.3kViews
1469 Shares

काठमाडौं,१८ चैत । गत शुक्रबार काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा भएको झडपमा घाइते भएका १२८ जनामध्ये १३ जनाको उपचार अझै जारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार उपचाररत १३ जनामध्ये ७ जनालाई गोली लागेको छ भने अन्य गम्भीर चोट बोकेको कारण आकस्मिक शल्यक्रिया गरिएको छ। घाइतेहरूको उपचार वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, पाटन अस्पताल, निजामती कर्मचारी अस्पताल, र काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताललगायतका संस्थाहरूमा भइरहेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए।

सरकारले तीनकुने घटनाका घाइतेहरूको निःशुल्क उपचार गर्ने घोषणा गरिसकेको छ। सोहीअनुसार, अस्पतालहरूलाई आवश्यक व्यवस्था मिलाउन मन्त्रालयले निर्देशन दिएको छ। गम्भीर घाइतेमध्ये अधिकांश सरकारी अस्पतालमा उपचाररत रहेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

झडपका क्रममा दुई जनाले ज्यान गुमाएका थिए। गम्भीर घाइते सविन महर्जनको शिक्षण अस्पताल, महाराजगञ्ज लैजाने क्रममा मृत्यु भएको थियो भने एभिन्युज टीभीका पत्रकार सुरेश रजकको एक निजी घरमा प्रदर्शनकारीले लगाएको आगोमा परेर जलेर मृत्यु भएको थियो।

सरकारी प्रतिबद्धतासँगै घाइतेहरूको उपचार जारी रहेको छ भने घटनाको छानबिन गर्न दबाब बढ्दै गएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *