वीरगन्ज :

रक्सौलमा लागूऔषध कारोबारको आरोपमा ९.६० ग्राम ब्राउन सुगरसहित ३ जना पक्राउ

श्रेणी : अपराध

2 months
Pradeep Sah
2.8kViews
1286 Shares

वीरगन्ज,२९ असार । भारत–नेपाल सीमाक्षेत्रमा लागूऔषध तस्करीविरुद्ध भारतीय प्रहरीले सञ्चालन गरेको विशेष अभियानमा ९.६० ग्राम ब्राउन सुगरसहित दुई नेपाली नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ परेकामाथि भारतको लागूऔषध तथा मनोद्दीपक पदार्थ (एनडीपीएस) ऐनअन्तर्गत मुद्दा दर्ता गरी न्यायिक हिरासतमा पठाइएको प्रहरीले जनाएको छ।

रक्सौलका एसडीपीओ मनीष आनन्द र रक्सौल थाना प्रमुख रमेश कुमार महतोको नेतृत्वमा खटिएको विशेष प्रहरी टोलीले गोप्य सूचनाका आधारमा रेलवे स्टेशन रोडस्थित नकाशा होटल नजिक तथा नागा रोडको जिल्ला परिषद् मार्केट क्षेत्रमा एकैसाथ छापा मारेको थियो।

छापाका क्रममा शंकास्पद तीन जनालाई नियन्त्रणमा लिएर खानतलासी गर्दा उनीहरूको साथबाट ९.६० ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा निवासी २२ वर्षीय दिपेश थिङ, २४ वर्षीय सागर कार्की तथा भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्लाको रक्सौल नगरपालिका–२० निवासी २६ वर्षीय टार्जन आलम रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट लागूऔषध ओसारपसारमा प्रयोग भएको आशंकामा एउटा मोटरसाइकल र तीन थान मोबाइल फोन पनि बरामद गरेको छ। बरामद मोबाइल फोनको कल डिटेल, सम्पर्क सञ्जाल तथा अन्य डिजिटल प्रमाणको विश्लेषण गरी घटनामा संलग्न थप व्यक्तिको खोजी भइरहेको जनाइएको छ।

एसडीपीओ मनीष आनन्दका अनुसार बरामद भएको ब्राउन सुगरको स्रोत, आपूर्ति सञ्जाल र यसको मुख्य योजनाकारको पहिचानका लागि अनुसन्धानलाई तीव्र बनाइएको छ। भारत–नेपाल खुला सीमाको दुरुपयोग गरी हुने लागूऔषध तस्करी नियन्त्रण गर्न सीमावर्ती क्षेत्रमा निगरानी थप कडा पारिएको उनले बताए।

प्रहरीले लागूऔषध कारोबारविरुद्ध ‘जिरो टोलरेन्स’ नीति अपनाइएको उल्लेख गर्दै सीमाक्षेत्रमा यस्ता विशेष अभियान आगामी दिनमा पनि निरन्तर सञ्चालन हुने जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *