काठमाडौं , ३१ असार । सरकारले कृषि क्षेत्रप्रति उपेक्षापूर्ण नीति अवलम्बन गरेको, आवश्यक अनुदान, संरक्षण र बजार व्यवस्थापन गर्न नसकेको आरोप लगाउँदै किसानहरूले माइतीघर मण्डलमा टमाटर फालेर विरोध प्रदर्शन गरेका छन्।
सरकारको आयातमुखी नीतिले स्वदेशी किसान मारमा परेको भन्दै प्रदर्शनकारीहरूले सांकेतिक रूपमा टमाटर सडकमा फाल्दै आफ्नो असन्तुष्टि व्यक्त गरेका हुन्।
प्रदर्शनका क्रममा किसानहरूले विदेशबाट आयात हुने तरकारीमा प्रभावकारी नियन्त्रण गर्न, कृषि बिमा प्रणालीलाई व्यवहारिक र प्रभावकारी बनाउन, स्वदेशी कृषि उपजका लागि सुनिश्चित बजारको व्यवस्था गर्न तथा गोलभेडासहित विभिन्न तरकारीको न्यूनतम समर्थन मूल्य तोक्न सरकारसँग माग गरेका छन्।
किसानहरूको भनाइमा उत्पादन बढे पनि उचित मूल्य र बजारको अभावका कारण उनीहरू निरन्तर घाटा व्यहोर्न बाध्य छन्। त्यसैले कृषि क्षेत्रलाई संरक्षण गर्ने ठोस नीति अवलम्बन गर्न र किसानमैत्री कार्यक्रम तत्काल कार्यान्वयन गर्न उनीहरूले सरकारसँग आग्रह गरेका छन्।
प्रतिक्रिया