
बीरगन्ज,१८ जेठ । भारतको बिहारस्थित बाल संरक्षण गृहमा राखिएका दुई नेपाली किशोरीलाई उद्धार गरी नेपाल ल्याइएको छ । माइती नेपाल बीरगन्ज आवधिक गृहले उनीहरूलाई स्वदेश फिर्ता गराई परिवारको जिम्मा लगाउने प्रक्रिया अघि बढाएको जनाएको छ ।
गृह प्रमुख गोमा पौडेलका अनुसार भारतको बिहार बृहत् आश्रय गृह, बाल गृह (बालिका) युनिट भैसाखाल सिवानमा आश्रित महोत्तरी औरही नगरपालिका–२ घर बताउने १७ वर्षीया र बाराको जितपुरसिमरा उपमहानगरपालिका–१८ की १६ वर्षीया किशोरीलाई भारतको बिहारस्थित बाल कल्याण समितिको आदेश र नेपाली दूतावास, नयाँ दिल्लीको समन्वयमा वीरगन्ज ल्याइएको हो ।
दुवै किशोरी करिब एक वर्षअघि फरक–फरक समयमा साथीहरूको प्रभावमा परेर घर छाडेर भारत पुगेका थिए । महोत्तरीकी किशोरी जनकपुरमा पार्लरमा काम गर्ने क्रममा चिनजान भएकी एक युवतीको प्रलोभनमा भारतको छपरा पुगेकी थिइन्। उनलाई धार्मिक स्थल दर्शन गराउने र राम्रो आम्दानी हुने काम दिलाइदिने आश्वासन दिइएको थियो ।
त्यसैगरी बाराकी किशोरी गाउँकै साथीसँग भारत बिहारको छपरा पुगेकी थिइन् । होटलमा काम गरिरहेकै बेला बढी आम्दानी हुने भन्दै अर्की युवतीले विवाह तथा सांगीतिक कार्यक्रममा नृत्य गर्ने कामको प्रस्ताव गरेपछि उनी त्यहाँ पुगेकी थिइन् । दुवै किशोरी भारतमा गैरकानुनी रुपमा सञ्चालन हुने नृत्य समूह ‘अर्केस्ट्रा’ सम्बन्धी गतिविधिमा संलग्न स्थानमा पुगेपछि भारतीय प्रहरीको निगरानीमा परेका थिए ।
यसैबीच, माइती नेपाल आवधिक गृह बीरगन्ज शाखाले चालु आर्थिक वर्षमा भारतबाट ९ जनाको उद्धार गरेको छ। उद्धार गरिएकामध्ये २ जना रक्सौलबाट तथा ७ जना छपरा र सिवान क्षेत्रबाट ल्याइएका हुन् ।
संस्थाका अनुसार यस अवधिमा सीमावर्ती क्षेत्रमा जोखिममा परेका १२१ जनाको उद्धार गरिएको छ । तीमध्ये ३७ जना १८ वर्षमुनिका र ८४ जना वयस्क थिए । आवधिक गृहमा वर्षभरि १७९ जनालाई आश्रय प्रदान गरिएको र सबैको पारिवारिक पुनर्मिलन गराइएको जनाएको छ । पाँच जनालाई अन्य संस्थामा पठाइएको छ भने हाल दुई जना गृहमा रहेका छन् ।
संस्थाले चालु आर्थिक वर्षमा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी तीन मुद्दा र जबर्जस्ती करणीसम्बन्धी दुई मुद्दा दर्ता प्रक्रियामा सहयोग गरेको जनाएको
छ । यस अवधिमा १७ हजार ९० वटा सवारीसाधनमा निगरानी तथा जाँच गरिएको र विभिन्न सचेतनामूलक कार्यक्रममार्फत एक हजार २९० जना लाभान्वित भएका छन् ।
त्यसैगरी संस्थाले २७ जनालाई कानुनी परामर्श, ११ जनालाई सामान्य स्वास्थ्य उपचार सेवा उपलब्ध गराएको जनाएको छ । खोजतलासका लागि परेका १८ निवेदनमध्ये १२ जनाको अवस्था पत्ता लागेको तथा घरेलु हिंसासम्बन्धी ६ घटनामा आवश्यक सहयोग प्रदान गरिएको संस्थाले जनाएको छ ।


प्रतिक्रिया