वीरगन्ज :

बीरगन्जमा ‘विश्व मायोपिया सचेतना सप्ताह २०२६’ सम्पन्न

श्रेणी : मधेस

52 minutes
Pradeep Sah
1.9kViews
1819 Shares

बीरगन्ज,०९ जेठ । “चाँडै सुरु गरौँ, जीवनभरका लागि दृष्टि जोगाऔँ” भन्ने नारासहित बीरगन्जमा ‘विश्व मायोपिया सचेतना सप्ताह २०२६’ विविध जनचेतनामूलक कार्यक्रमका साथ सम्पन्न गरिएको छ।

मे १८ देखि २४ सम्म विश्वभर मनाइने उक्त सप्ताहको अवसरमा बीरगन्जमा आयोजित सचेतना र्‍याली घण्टाघरबाट सुरु भएर मकालु होटल, घडीअर्वा पोखरी हुँदै पुनः घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो।

कार्यक्रमको मुख्य आयोजना विरगन्ज दृष्टि आँखा तथा नाक कान घाँटी अस्पताल ले गरेको थियो भने नारायणी आँखा अस्पताल र सिद्धि आइ केयर सेन्टर को सक्रिय सहभागिता रहेको थियो।

कोणसभामा विशेषज्ञ वक्ताका रूपमा सहभागी डा. विपिन विष्ट र डा. आदित्य प्रसादले पछिल्लो समय बालबालिकामा मायोपिया अर्थात् नजिकको दृष्टिदोष तीव्र रूपमा बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरेका थिए। उनीहरूले समयमै आँखा परीक्षण, उचित पावरको चस्मा प्रयोग र नियमित फलोअपको आवश्यकता औँल्याउँदै ढिला गर्दा दृष्टिमा गम्भीर असर पर्न सक्ने बताएका थिए।

चिकित्सकहरूका अनुसार अत्यधिक मोबाइल, ट्याब्लेट तथा कम्प्युटरको प्रयोग, लामो समयसम्म नजिकबाट अध्ययन गर्ने बानी र बाहिरी खेलकुद गतिविधिमा कमी आउनु बालबालिकामा मायोपिया बढ्नुका मुख्य कारण हुन्।

कार्यक्रममा स्थानीय सर्वसाधारण, विद्यार्थी, अभिभावक तथा स्वास्थ्यकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रम संयोजक तथा मायोपिया विशेषज्ञ वसन्त पौडेलले यस्ता अभियानले समाजमा आँखाको स्वास्थ्यप्रति सकारात्मक चेतना फैलाउने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी आयोजक संस्थाका अध्यक्ष विश्वराज गौतमले सहभागी सबैप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि आँखा स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *