वीरगन्ज :

बीरगन्जमा बोक्सीको आरोपमा वृद्धामाथि कुटपिट, तीन महिला पक्राउ

श्रेणी : BANNER

2 months
Pradeep Sah
2.8kViews
1591 Shares

बीरगन्ज,०६ जेठ । पर्साको बीरगन्ज महानगरपालिका–३२ चोर्नी गाउँमा एक वृद्धा महिलामाथि बोक्सीको आरोप लगाएर कुटपिट गर्ने तीन जना महिला पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा स्थानीय ३८ वर्षीया पिंकी देवी, ४४ वर्षीया पानमती देवी र ५४ वर्षीया शान्तिदेवी धानुक रहेका छन्। घटनामा संलग्न अर्की महिला मुनती देवी भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गत फागुन २७ गते ७२ वर्षीया कोशिलिया अहिरिन आफ्नै गहुँबारीमा गएकी बेला गाउँकै केही महिलाले एउटा काम छ भन्दै उनलाई घरमा बोलाएका थिए। त्यसपछि उनीमाथि बोक्सीको आरोप लगाउँदै कुटपिट गरिएको थियो।

पीडित महिलाले आफूमाथि अमानवीय व्यवहार गरिएको भन्दै प्रहरीमा जाहेरी दिएपछि घटनाको अनुसन्धान सुरु गरिएको हो। सोही जाहेरीका आधारमा प्रहरीले मंगलबार वीरगन्जको घण्टाघर क्षेत्रबाट तीन जनालाई पक्राउ गरेको पर्सा प्रहरीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।

पक्राउ परेका महिलाविरुद्ध बोक्सीको आरोप सम्बन्धी कसूर तथा सजाय ऐन, २०७२ अन्तर्गत मुद्दा दर्ता गरिएको छ। पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *