वीरगन्ज :

बारामा मोटरसाइकल दुर्घटनाका घाइते वृद्धाको उपचारपछि मृत्यु, घर फर्किँदै गर्दा अन्तिम सास

श्रेणी : BANNER

18 hours
Pradeep Sah
2.1kViews
1512 Shares

वीरगन्ज,०७ साउन । बाराको सिम्रौनगढ नगरपालिका–६ पर्साटोलमा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएकी एक वृद्धाको उपचारपछि घर फर्काउने क्रममा बाटोमै मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बिहीबार बिहान करिब ११ः३० बजे पर्साटोलबाट इटवालतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट BR 30 AD 5642 को मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको थियो। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सिम्रौनगढ–७ पर्साटोल निवासी ६० वर्षीया सायबुन खातुन गम्भीर घाइते भएकी थिइन्। उनको टाउको र दाँतमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।

घाइते खातुनलाई तत्काल उपचारका लागि वीरगञ्जस्थित एनएमसी (नेशनल मेडिकल कलेज) अस्पताल पुर्‍याइएको थियो। मोटरसाइकल चालक उनका करिब २५ वर्षीय छोरा तबरेज अन्सारी भने सकुशल रहेका थिए र आमाको उपचारमा संलग्न थिए।

दुर्घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा चालकले मादक पदार्थ सेवन नगरेको खुलेको प्रहरीले जनाएको छ। मोटरसाइकलका आवश्यक कागजात परीक्षण भइरहेको छ भने दुर्घटनापछि चालकले सवारीसाधन आफ्नै घरमा लगेर राखेको पाइएको छ।

उपचारका क्रममा स्वास्थ्य अवस्थामा उल्लेखनीय सुधार नआएपछि परिवारले साँझ एम्बुलेन्समार्फत उनलाई घर फर्काउने निर्णय गरेको थियो। तर साँझ करिब ६ बजे घर फर्किने क्रममा बाटोमै सायबुन खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

घटनाको जानकारी प्राप्त भएपछि प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साहको नेतृत्वमा मुचुल्का तथा फरेन्सिक टोली खटिएको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *